पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नेपाल सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । चुनाव आवधिक प्रक्रिया हो । त्यसकारण, हरेक पाँच वर्षमा चुनाव आउनु नयाँ कुरा होइन । तर, आमनिर्वाचन २०७९ को फरक परिदृश्य देखा पर्दैछ, गैरदलीय उम्मेदवारहरूको कारणले । गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको सफलताले आगामी चुनावमा धेरै जना स्वतन्त्र उम्मेदवार खडा हुन हौसिएका छन् ।

स्वतन्त्र भनिए तापनि चुनावमा उत्रिएको कुनै व्यक्तिको पछाडि उसका समर्थकहरूको दलबल हुन्छ । ऊ आफैं सामाजिक बन्धनमा बाँधिएको हुन्छ । त्यसैले स्वतन्त्र भन्नु भन्दा गैरदलीय उम्मेदवार भन्नु उपयुक्त हुनेछ । त्यसो त, स्वतन्त्रको लोकप्रियतालाई हतारमा छोप्ने दाउमा स्वतन्त्र नामधारी नयाँ पार्टी नै दर्ता भएको छ । जेहोस् यी आफूलाई स्वतन्त्र दाबी गर्ने गैरदलीय उम्मेदवारहरूले आमनिर्वाचन २०७९ मा जित्न सक्ने तीन बलिया आधार छन् ।

१. नयाँ पुस्ताको उदय

नेपालमा युवा जनसंख्याको बाहुल्य छ । मतदान गर्ने १८ वर्ष उमेर पुगेका, ३५ वर्ष ननाघेका जनसंख्या करिब एक तिहाइ छ । यस उमेर समूहलाई बालेन पुस्ता भन्न सकिन्छ । यो पुस्ता करिब करिब २०४६ सालको आन्दोलनपछि जन्मियो । यो पुस्ताले मदन भण्डारी, मनमोहन अधिकारी देखेन । यो पुस्ताले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई पनि चिन्दैन ।

कम्युनिस्ट, कांग्रेसको पंचायतकालीन राजनीतिक संघर्ष र त्याग तपस्या यो पुस्ताको लागि एकादेशको कथा हो । दशवर्षे माओवादी द्वन्द्वकालमा यो पुस्ता बालकै थियो भने, २०६३ सालको आन्दोलन पनि राम्ररी अनुभव गर्न पाएन । यो पुस्ताको केही हिस्साले २०६५ सालमा पहिलो संविधानसभाको चुनावमा पहिलो पटक भोट हाल्यो भने, ठूलो हिस्साले गत स्थानीय चुनावमा भोट हाल्यो ।

नयाँ पुस्ताले नेपाली राजनीतिमा जे–जति देख्यो, भोग्यो र बुझ्यो, राम्रा कुरा कम छन् भने नराम्रा कुरा ज्यादा छन् । बेथिति र बेरोजगारीबाट नयाँ पुस्ता यति आक्रान्त छ कि यो देशमा बसेर भविष्य नै देख्दैन । अधिकांश युवा अध्ययन र रोजगारीको लागि विदेशिन बाध्य छ । नेपालको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा नेपाली विदेश पलायन भइरहेका छन् । यो रोकिने छाँट पनि छैन । यसको दोष शासन चलाउने नेताहरूप्रति जान्छ ।

पंचायतको पतन पश्चात् बहुदलीय व्यवस्थामा र राजतन्त्र उन्मूलन पछि गणतान्त्रिक व्यवस्थामा जनअपेक्षा अनुसार राजनीतिक दलहरूले काम गरेनन् । यही अवधिमा हुर्केबढेको नयाँ पुस्ता शिक्षित र ऊर्जावान त छ, तर देशको भविष्यप्रति घोर निराशा र राजनीतिप्रति चरम वितृष्णामा डुबेका छन् । त्यसैले चुनावलाई राजनीतिक दलका नेताहरूसँग बदला लिने सही अवसर ठानेका छन् । तर, विकल्प पाएका छैनन् । त्यसैले नयाँ अनुहारका गैरदलीय उम्मेदवारप्रति नयाँ पुस्ताको आकर्षण छ ।

पार्टीको बिल्ला नभिर्दै, झण्डा नबोक्दै वा सभा सम्मेलनमा सहभागी नहुँदै कुनै व्यक्ति अराजनीतिक हुँदैन । सूचनाको सहज पहुँचले राजनीतिक दल र तिनका नेता, कार्यकर्ताको गतिविधि आमजनताले निरन्तर अनुगमन गर्नसक्ने भएका छन् । त्यसैले नयाँ पुस्ता गैरदलीय हो, तर अराजनीतिक होइन । सामान्य राजनीतिक चेत राख्न माक्र्सवाद वा कुनै वादको ठेली नै पढ्नुपर्छ भन्ने छैन ।

नयाँ पुस्ता राजनीतिक चेत भएको तर गैरदलीय छ । नयाँ पुस्ताको भोट दललाई नहेरी स्वच्छ छविका क्षमतावान उम्मेदवारलाई जाने पक्का छ । तसर्थ, स्वतन्त्र अर्थात् गैरदलीय उम्मेदवारले आफूलाई स्वच्छ छविको क्षमतावान व्यक्तिको रूपमा प्रस्तुत गर्न सके नयाँ पुस्ताको भोट पाउन सक्छ । जुन कुल मतदाताको करिब एक तिहाइ छ ।

२. नेपाल बाहिरका नेपाली

नेपाल बाहिर नेपालीको ठूलो संख्या छ । रोजगारी, अध्ययन वा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिक मतदानबाट वञ्चित रहँदै आएका छन् । नेपाल बाहिरका नेपालीलाई नेपालको अवस्था देखेर असह्य पीडा हुने गर्छ । नेपालमा अब यस्तो कुनै मान्छे रहेन, जसको परिवारको सदस्य, नातेदार वा साथीभाइमध्ये कोही न कोही विदेशमा नहोस् । इन्टरनेटको पहुँचले विदेशमा रहेका नेपाली नेपालका आफन्तहरूसँग साँझबिहानै संवाद गरिरहेका हुन्छन् ।

जुन वर्गले नेपालमा रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिएको छ, त्यस वर्गलाई राजनीतिक दलहरूले विभिन्न संघसंस्थाको नाममा कार्यकर्ता, समर्थक बनाएर अल्मलाएर राख्दै आएको छ । राजनीतिक दलहरूप्रति आम नेपालीको वितृष्णा बढ्दै जाँदा विदेशमा रहेका नेपालीमा पनि स्वाभाविक रूपमा वितृष्णा जागेको छ । नेपाल बाहिरका नेपालीको राजनीतिक आकांक्षा हिजो दलहरूसँग जोडिनु मात्र थियो भने, आज नेपालको राजनीतिलाई प्रभावित गर्ने हैसियत राख्छन् ।

विदेशमा बस्ने नेपालीले नेपालको अवस्था र समसामयिक राजनीति बारे सामाजिक संजालमा सक्रिय रूपमा टीकाटिप्पणी गरिरहेको देख्न सकिन्छ । यसबारे समाजशास्त्रीय अध्ययन त भएको थाहा छैन, तर यत्ति भन्न सकिन्छ कि उनीहरूले नेपालस्थित आफ्ना परिवारका सदस्य, नातेदार र साथीभाइलाई प्रभावित गरी चुनावको परिणाम उलटफेर गरिदिन सक्छन् । काठमाडौं महानगरपालिकाको गत चुनावमा केही हदसम्म यो प्रवृत्ति देखापरेको छ ।

आगामी चुनावमा नयाँ अनुहारका गैरदलीय उम्मेदवार, खासगरी जो विदेशबाट फर्केका छन् वा विदेशको अवसर त्यागेर राजनीतिमा होमिएका छन्, तिनीहरूले नेपाल बाहिरका नेपालीको ध्यान तान्ने प्रबल संभावना छ । विदेशमा रहेका नेपालीको आफन्तको भोट, गैरदलीय उम्मेदवारले जित्ने अर्को आधार छ ।

३. वाक्कदिक्क आम सर्वसाधारण

बारम्बार सत्तामा पुगेका दलका नेता र तिनीहरूका आसेपासे बाहेक आम सर्वसाधारण नेपाली राजनीतिक दलहरूबाट वाक्कदिक्क भएका छन् । नेपाली समाजको मनोविज्ञान अनौठो छ, खासगरी सचेत शहरी क्षेत्रमा । त्यसैले कतिपय स्थानमा चुनावको अप्रत्याशित परिणाम नआउला भन्न सकिन्न ।

चुनावमा पैसाको खोलो बगाउने, तडकभडक गर्ने, मान्छे ओसारेर आमसभा गर्ने भन्दा एक्लैदुक्लै चुनाव प्रचार गर्ने गैरदलीय उम्मेदवारले आम सर्वसाधारणको मन जित्न सक्छ । पुराना पुस्ताले रूख, सूर्य, हँसियाहथौडा, हलो आदिमा भोट हाल्दै आएकोमा यसपालि नयाँको खोजी गर्न सक्छन् । आगामी चुनावमा नयाँ अनुहारले प्राथमिकता पाउने संकेत देखा परिसकेको छ ।

नेपालमा राजनीति हजारौं मानिसको पूर्णकालीन पेशा रहेको छ । तिनीहरूमध्ये ठूलो संख्या उम्मेदवारको आकांक्षी हुनेछन् । राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई तिनीहरूको व्यवस्थापन गर्न सजिलो छैन । राजनीतिक दलहरू सच्चिउन् भन्ने कामना गर्दागर्दै पनि उम्मेदवार छनोटमा चुक्न सक्छन् । तिनीहरूले चाहेर पनि नयाँ अनुहारले मौका नपाउन सक्छन् । यस्तो स्थितिमा गैरदलीय उम्मेदवार, वाक्कदिक्क भएका मतदाताहरूको लागि विकल्प बन्न सक्छन् । त्यसैले गैरदलीय उम्मेदवारले दलका पुराना मतदाताहरूको ठूलो तप्काबाट भोट प्राप्त गर्न सक्छन् ।

अन्त्यमा, प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरू अधिकांश सत्तरी वर्ष कटेकाले सत्ता संचालनमा युवालाई पालो दिनुपर्ने चर्को आवाज उठेको छ । युवा उमेर तुलनात्मक हिसाबले सहज अवस्था त हो, तर उमेर मात्र सबै थोक होइन । नयाँ अनुहार गैरदलीय हुँदैमा असल, योग्य र क्षमतावान हुन्छ भन्ने छैन । अहिले राजनीतिक दलहरूको विगतको विफलताले गैरदलीय उम्मेदवारको पक्षमा माहोल सिर्जना भएको छ ।

तर, गैरदलीय उम्मेदवार आफैंमा कत्तिको क्षमतावान छ, आफ्ना कुराहरू कसरी आम जनतासमक्ष राख्छ र मतदातालाई विश्वस्त तुल्याउन सक्छ भन्ने कुराले जित–हारको तय गर्नेछ । मिडियाको प्रयोग, खासगरी रेडियो, टेलिभिजन र सामाजिक संजालको प्रभावकारी उपयोग गरेर गैरदलीय उम्मेदवारले मतदाता आकर्षित गर्न सक्छ । निर्वाचन क्षेत्रमा दलीय सांगठनिक आधार र कार्यकर्ताको लर्को विना पनि, गैरदलीय उम्मेदवारलाई मतदातासमक्ष मिडियाको माध्यमबाट पुग्ने सुविधा छ । यसप्रकार माथि उल्लिखित तीन वर्गलाई लक्षित गरी मिडियाको अधिकतम उपयोगबाट क्षमतावान गैरदलीय उम्मेदवारले आगामी निर्वाचनमा जित्ने प्रचुर संभावना छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : ५७ बजे