पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो । पाँचथर

सयौं थुम्का थुम्कीको समग्रतामा नै पहाडी सुन्दरता खुलेको हुन्छ । थुम्का–थुम्कीले पहाडी परिवेश सुहाउदो मात्रै पार्दैन । यीनले टाढा–टाढाका मोहक परिदृष्यका रमितसमेत देखाउछन् । कतिपय थुम्कोहरुबाट त दुर्लभ झुल्केनी घाम नै हेर्न पाइन्छ । सूर्योदय देखाउने थुम्को पर्यटकिय हिसावले पनि दुर्लभ मानिन्छन् । यस्तो खाले प्राकृतिक ‘भ्यू टावर’ पूर्वमा थुप्रै छन् । पूर्वका इलामको श्रीअन्तु, सन्दकपुर, भारत दार्जिलिङको टाइगर हिल्स त्यस्तै थुम्कोहरु हुन् । यी थुम्कोहरुमा सयौ देशी विदेशी पर्यटक मरिहत्ते गर्दै पुग्ने गरेका छन् । जहाँबाट अनेकौ दृश्यको आनन्दमयी नजरपान पनि गर्न सकिन्छ । तर पर्यटकको मुख्य रहर हुन्छ–घामको झुल्को हेर्नु । हुन पनि सबै थुम्कोबाट मज्जाले सूर्योदय कहाँ देखिन्छ र ! यो सम्भव विशेषगरि पूर्वी नेपालको भूभागबाट मात्र हुने बताइन्छ । लाग्छ त्यसैले घामको पहिलो झुल्को हेर्न पूर्व आउन पर्यटक धेरै जोड गर्छन् । यसले गर्दा पूर्वका पर्वतीय थुम्कोले महत्व पनि धेरै राख्छन् । पूर्वबाट झुल्कीने घामलाई पूर्वै आएर हेर्नुको मज्जा पनि बेग्लै छ । धेरै टाढाको घामलाई झुल्कदा पूर्वेली टापुहरुबाट धेरै नजिक लाग्ने बताइन्छ । यसबाट अनुभूत हुने रोमाञ्चकताको बयान गरि साध्य नहुने पर्यटक सुनाउछन् । अहिलेसम्म पूर्वी इलामका केहि पहाडी चुचुरो मात्रै सूर्योदय देख्न सकिने थुम्कोका रुपमा चिनिन्छन् । पहिचान भएर पनि प्रवद्र्धन अभावमा लुकेका धेरै छन् । यस्तै लुकेका थुम्कोहरु पाँचथरमा पनि छन् । लोहाकिल, नामतोक, जरीबुटे डाँडा, तीन थुम्की, कन्याटार डाँडा र मिक्लाजुङ पाँचथरका लुकेका थुम्को हुन् । यी थुम्कोबाट पनि मज्जाले घामको झुल्को देख्न सकिन्छ । यस हिसावले पाँचथर सूर्यौदय देख्न सकिने थुम्कोहरुको ‘हव’ नै हो । यद्यपी यस क्षेत्रमा पर्यटक नजर पुगेकै छैन । कहिले काँही स्थानीयवासी पुग्छन् । प्रचार नपाएर लुकेको अवस्थामा छन् । जैविक विविधताले पनि सम्पन्न यीनै लुकेका थुम्कोहरु बारे यहाँ चर्चा गरिएको छ ।

लोहाकिल
पाँचथरको सुन्दर सदरमुकाम फिदिमको सानदार सिर हो–लोहाकिल । तीन हजार सात मीटर उच्चो यो थुम्को फिदिम नगरपालिका–१४, मा अवस्थित छ । यहाँ पुग्न मेचीमार्गको इलाम–फिदिम सडक खण्डको पौवाभञ्ज्याङदेखि पूर्व ताक्नुपर्छ । यो इलाम नगरपालिका संगको सिमा क्षेत्र पनि हो । सिजनमा विभिन्न प्रजातिका गुराँसको लाल किल्ला बन्ने लोहाकिलबाट बाह्रै महिना सूर्योदय प्रष्ट देखिन्छ । मौसम चाहि कुहिरो र तुवालोविहीन हुनैपर्छ । यहीबाट कुम्भकर्ण, कञ्चनजंघा, मकालु, सगरमाथा लगायतको हिमाल पनि हेरिन्छ । पौवाभञ्ज्याङदेखि होमस्टे–गाउँ सुकेपोखरीसम्म गाडीमा गएर तीन किलो मीटर हिड्दा लोहाकिल पुगिन्छ । विभिन्न जडीबुटी, रेडपाण्डा यस क्षेत्रमा पाइन्छन् । लोहाकिल चुचुरोबाट इलामको सौन्दर्य अनि झापाका सुन्दर फाँटहरु पनि देखिन्छ । सूर्योदय हेर्न आउदा सुकेपोखरीको होमस्टेमा बास बसे सिस्नो, झ्याउ, मकैको ढिडो, आलु, किवी खान पाइन्छ । सिल्टीमुर, खानाक्पा, टिमुर, वारेक्पा लगायत जडिबुटीजन्य अचार यहाँको विशेष पहिचानको परिकार हो ।

फिदिम नपा वडा नं १४ स्थित लोहाकिल

नामतोक
नामतोक थुम्को सेरोफेरो लिम्बू जातिको बहुल क्षेत्र हो । लिम्बू भाषामा ‘नामतोक’को अर्थ घाम ठोकीन्छ भन्ने हुन्छ । हुनपनि ‘नामतोक’मा पहिलो घामको झुल्को ठ्याक्कै ठोकिन्छ नै । जस अनुसार नामकरण सोही रहन गएको बताइन्छ । यो डाँडो पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, वाडमा छ । यसको दक्षिणी सधँेरीमा इलाम फाकफोक गापा–१, वडा क्षेत्र पर्छ । दुई हजार एक सय मीटरमा अग्लीएको नामतोक डाडाँमा भेडेटार–रवि–राँके सडक यात्रा गर्दा पुगिन्छ । यहाँबाट पनि खुलेको जुनै महिनामा झुल्केनी घामको सुन्दरता छर्लङ्ग देख्न पाइन्छ । नामतोकको टुप्पोबाट कुम्भकर्ण, कञ्चनजंघा, पाथीभरा, भारतको सिक्किम, दार्जिलिङ पनि देखिन्छ । दक्षिणतर्फ इलाम–कन्याम, झापाको काँकडभिट्टा, विर्तामोड, दमक र मोरङ्को उर्लाबारी बजारको दृष्यावलोकन ‘नामतोक’ले गराउछ । पाँच खाले उन्यू, लोक्ता, सल्ला, गुराँस, चिराइतो, बुढो ओखती लगायत नामतोकका पर्यावरण हुन् । यहाँको वनमा मृग, दुम्सी, लोखर्के जन्तु पनि छन् । नामतोक टापु नजिकै सानो चिटिक्कको दशमी बजार छ । यहाँ गाँस वासको सुविधा लिएर नामतोकबाट देखिने सूर्योदय हेर्न जान सकिन्छ ।

जरीबुटे डाँडा
पाँचथरकै दक्षिणी भूगोलमा एउटा सुन्दर रवि बजार छ । भेडेटार–रवि–राँके सडक पहँुचको रवि पाँचथरको दोस्रो ठूलो सुन्दर सहर हो । यसको उत्तरतर्फको नजिक सामुन्नेमा दुई हजार तीन सय ६६ मिटरको टापु छ । यहि डाँडालाई जरीबुटे नामले चिनिन्छ, जहाँ दर्जनौ जडीबुटी भेटिन्छ । यो डाँडोबाट पनि झुल्केनी घामको सुरुवाती आकृति दुरुस्त देखिन्छ । यहाँबाट चारतिर घुमीफिरी हेरे पूर्वी आठ जिल्ला क्षेत्रका हिमाल, पहाड, तराईका रोमाञ्चक ठाउँ देखा पर्छन् । जरीबुटेको अर्को आकर्षण बेहुली ढुङ्गा पनि हो । यो ढुङ्गा हेर्नुमा पनि विछट्टै मज्जा मिल्छ । मिक्लाजुङ गाउँपालिका–४, मा पर्ने जरीबुटेमा ३० फिट अग्लो बुद्ध मुर्तीसहितको बुद्धपार्क बन्ने क्रममा छ । रवि ( सूर्य ) कै झुल्केनी झलक देखिने जरीबुटे डाँडो नजिकैको रवि बजारको पनि शोभा बनेको छ । रवि बजार बहुल राई जातिको बस्ती हो । जहाँ राई संस्कृतिसंग साक्षातकार होइन्छ । यही बास बसेर सखारै जरीबुटेमा सूर्योदय हेर्न जान सकिन्छ ।

मिक्लाजुङ गाउँपालिका–४ स्थित जरीबुटे डाँडा

तिन थुम्की
तीन थुम्की डाँडाबाट पनि सूर्योदय हेर्नुकै मज्जा लिन सकिन्छ । दुई हजार २२५ मीटर उचाईको तिन थुम्की मिक्लाजुङ गाउँपालिका–५ मा पर्छ । तिन थुम्कीमा अध्यारो, तुवालो र कुहिरोको पर्दा हटेको मौका छोपेर विहानै पुग्नुपर्छ । यहाँबाट उत्तरी हिमाली चिसो हावाको सितल स्पर्षको साथमा सूर्योदय हेर्न पाउँदा ख्याल मात्रै आनन्द लाग्दैन । यहीबाट हेर्न पाइने हिमाल, पहाड र तराईको सेरोफेरो हे¥यो भने उस्तै मन फुरुङ्ङ हुन्छ । अतिरिक्तमा अरु पनि दामी दृष्यहरु देखिन्छन् । यो टापुबाट पूर्वका आकर्षक सहर झापाको विर्तामोड, दमक, धनकुटाको सदरमुकाम, हिले र तेह्रथुमको बसन्तपुर, म्याङ्लुङ देखिन्छ । तिन थुम्की क्षेत्रमा दाजु भाई जस्तै लाग्ने गरि तिन वटा डाँडा लहरै मिलेर बसेका छन् । त्यसैले ठाउँको नाम पनि त्यस्तै राखिएको बताइन्छ । तिन थुम्की जैविक विविधाताले पनि युक्त छ । यसको संरक्षणको लागि तिन थुम्की सामुदायिक वन समुह नै खडा गरिएको छ । यहाँको वनमा गोब्रे सल्ला, उत्तिस, चाँप, केसरी, मजिटो, चिराइतो लगायत बोट विरुवा पाइन्छन् । कालिज, खरायो, मृग जस्ता जीव पनि छन् । यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्थानीयद्वारा भ्यू टावर, सिढींमार्ग निर्माणका काम भइरहेका छन् । भेडेटार–रवि–राँके मार्गले भेट्ने तिन थुम्की नजिकमा सानो चिटिक्कको चिसोपानी पञ्चमी बजार छ । यहाँ राम्रो गाँस, वासको प्रवन्ध मिल्छ ।

मिक्लाजुङ गाउँपालिका–५ स्थित तिन थुम्की

कन्याटार डाँडा
भेडेटार–रवि–राँके सडकको लिम्बा खण्ड क्षेत्रमा कन्याटार डाँडा छ । यो थुम्को मिक्लाजुङ गाउँपालिका–६ नम्बर वडाको सुन्दर सदरमुकाम कन्याटार बजारको मास्तिर छ । यसको अग्लाई करिव दुई हजार मिटर छ । इलाम चुलाचुली गापासंगको सिमा क्षेत्र पनि हो कन्याटार डाँडा । यहाँबाट पनि देखिइने हिमाल, पहाड र तराईका भू–भागसहित अनेकौ दृष्यका रमितले मन्त्रमुग्ध नै पार्छ । यसै क्षेत्रमा रमिते महादेव गुफा छ । हिडेर र बामे सर्दै छिर्न सकिने गुफा अनुमानित ४० मीटर लम्बाईको छ । गुफामा पाँचथरतर्फबाट छिरे इलाम र इलामतर्फबाट पस्दा पाँचथर निस्कन सकिने बताइन्छ । कन्याटार डाँडाको खास पर्यटकीय महत्व चाँहि सूर्योदयले नै राख्छ । असोज, कात्तिक, मंसिरमा मज्जाले सुर्योदय देख्न सकिने कन्याटार डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजंघा, पाथीभरा देखिन्छ । गुराँस, कटुस, बज्राठ, केसरी, सुनाखरी अर्किट जातका बोट विरुवा यहाँ पाइन्छन् । बुढो ओखती, चिराइतो, पाखानवेदलगायतका जडिबुटी पनि पाइन्छन् । वन्य जन्तुमा मृग, स्याल, बाँदर, लोथ्रके, घोरल र पंछीमा ढुकुर, कालिज, न्याउली, कोइली, उल्लु, काग, चिल भेटिन्छन् । कन्याटार बजारमा खाने पिउनेसहितको वसोवासको व्यावस्था छ ।

मिक्लाजुङ गाउँपालिका–६ स्थित कन्याटार डाँडा

मिक्लाजुङ
‘मिक्लाजुङ’ मिक्लाजुङ गाउँपालिका–७, को दुई हजार ७ सय मीटर उचाईको डाँडा हो । भूगोल र स्थानीय पहिचान जनाउने उपयुक्त शब्द मिक्लाजुङ पाइएपछि गाउँपालिकाको यहि नाम राखिएको छ । दुई जिल्लाको साझा शिखरको रुपमा रहेको मिक्लाजुङको दक्षिण मोरङ र उत्तर पाँचथर पर्छ । लिम्बू भाषाको मिक्लाजङ अपभ्रम्स भएर मिक्लाजुङ भएको भनाइ छ । मिक्लाको मालिङ्गो र जङ्गको टुप्पा भन्ने अर्थ लाग्छ । मिक्लाजुङ डाँडामा मिक्ला ( मालिङ्गो ) को घना झाडी परापूर्व कालदेखि अझै छ । मिक्लाजुङमा टाढादेखि पनि धेरै मिक्लाजङ ( मालिङ्गो टुप्पा ) देख्न सकिन्छ । कालान्तरमा मिक्लाजङ मिक्लाजुङ भएको बताइन्छ । मिक्लाजुङको मुख्य आकर्षणता यहाँको चुचुरोबाट पूर्वि क्षितिजमा सूर्योदय देखिनु हो । यहाँबाट पूर्वका सत्र जिल्लाका विभिन्न भू–भागसमेत देख्न सकिन्छ । यहिबाट देखिने हिमाल, पहाड, तराईका सयौ सौन्दर्यका दृष्य हेरेको हेरै भइन्छ । जैविक विविधताको राजधानी पनि हो मिक्लाजुङ डाँडा । यहाँ विभिन्न बोटविरुवा, जडीबुटी, पंछी, जन्तु पाइन्छन् । मिक्लाजुङ जङ्गल मोरङको रमिते हुदै चारकोषे झाडीसम्म फैलिएको जङ्गलसंग जोडिएको छ । यो जङ्गलको बाटो हुदै तराईमा मात्रै पाइने एक सिङ्गे अर्नासमेत मिक्लाजुङ जङ्गलमा आइपुग्ने गरेको छ । तराईमै पाइने सानो बाघ पनि यतैतिर आइपुग्ने स्थानीय दावी छ । यो डाँडा भेडेटार–रवि–राँके सडक छेउमा छ ।

मिक्लाजुङ गाउँपालिका–७ स्थित मिक्लाजुङ डाँडा

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  २ : ०३ बजे