२९ मंसिर, काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् ।
ओली र पोख्रेल दुवै प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाएका छन् ।
ओलीको प्यानलमा शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ ।
ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन ।
यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको छ ।
९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो ।
ईश्वर पोख्रेलले पनि प्यानल बनाइसकेका छन् । पोख्रेलको प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ ।
यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ ।
उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ ।
सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको स्रोतले बतायो ।
ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।
आज सबै निर्वाचन प्रक्रिया पूरा गरेर पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म मतदात गर्ने कार्यतालिका छ ।
उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।
उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
अनलाइन खबरवाट
प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार १ : ४८ बजे







प्रतिक्रिया