पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१७ माघ, पाँचथर । अन्तर विद्यालय स्तरीय टि- १० क्रिकेट प्रतियोगिताको उपाधि नयाँ नमुना माविको पोल्टामा परेको छ । फिदिम माविको खेल मैदानमा विहिबार सम्पन्न प्रतियोगिताको फाईनलमा फिदिम माविलाई ४७ रनले पराजित गर्दै नमुना माविले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

टस जितेर ब्याटिङ राेजेको नमुना माविले ९ ओभरमा सवै विकेटको गुमाएर ८० रन बनाएको थियो । ८१ रनको लक्ष्य पछ्याएको फिदिम मावि ८ ओभरमा ३३ रन बनाउँदै अल आउट भएछि नमुना मावि ४७ रनले विजयी भएको हो ।

जिल्ला क्रिकेट संघ पाँचथरले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको नमुना माविले १० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्याे । यसै गरी, उपविजेतामा सीमित फिदिम माविले ७ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगिताको प्लेयर अफ दि सिरिज नमुना माविका अभय रिजाल घोषित भए । उनले १ हजार १ सय नगद र ट्रफी हात पारे । सेमिफाईनलमा उनले समता स्कुल विरुद्ध अटआउट शतक प्रहार गरेका थिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रतियोगिता समापन सत्रका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे, नेपाली काँग्रेसका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख युमणी सवेहाङ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपाल लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

बुधबारदेखि आयोजना भएको प्रतियोगितामा जिल्लाका नीजि तथा सामुदायिक गरी ६ विद्यालयहरु सहभागी भएका थिए । नयाँ खेलाडीहरुको पहिचान गरी प्रशिक्षणको व्यवस्था मिलाउन प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष सुमन लामाले बताए ।

सोही मैदानमा विहिबार नै नेपाल बैंकर्स संघ पाँचथर र ब्याडमिन्टन संघ पाँचथरबीच मैत्रिपूर्ण क्रिकेट प्रतियोतिा सञ्चालन भएको थियो । मैत्रिपूर्ण प्रतियोगितामा नेपाल बैंकर्स संघ १५ रनले विजयी भयो । ९ ओभरमा छोट्याइएको खेलमा पहिला ब्याटिङ गरेको बैंकर्स संघले ४ विकेटको क्षतीमा ६८ रन बनाएको थियो । ६९ रनको विजयी लक्ष पछ्याएको ब्याडमिन्टन संघले पूरा ओभर खेल्दै ९ विकेटको क्षतीमा ५३ रन मात्र जोड्न सफल भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : ०५ बजे