पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

११ जेठ, पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पाँच जना पत्रकारलाई पाँचथरमा आइतबार पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा धरान सुनसरीका अग्रज पत्रकार हर्ष सुव्वा, गाणेश साम्पाङ, ज्ञानु घिमिरे, उपेन्द्र एत्तेन र विष्णु अधिकारी रहेका छन् । महासंघले हरेक वर्ष वितरण गर्दै आएको स्वतन्त्र सेनानी सम्मान तथा पुरस्कारवाट अग्रज पत्रकार सुव्वालाई प्रदान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ सहित सम्मान पत्र र दोसाल्ला ओढाएर पुस्कृत गरेका हुन् ।

नगर विकास पत्रकारिता पुरस्कारवाट पब्लिक टाइम्स साप्ताहिकका प्रकाशक सम्पादक गणेश साम्पाङलाई प्रदान गरिएको छ । उनलाई १० हजार नगद सहित सम्मान पत्र र दोसाल्ला ओढाएर पुस्कृत गरिएको हो । यो पुरस्कार नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सिफारिसमा फिदिम नगरपालिकाले प्रदान गर्दै आएको छ । यसै गरी, क्रियाशील महिला पत्रकार प्रोत्साहन पुरस्कारवाट खबरहबमा कार्यरत ज्ञानु घिमिरेलाई १० हजार नगद सहित सम्मान पत्र र दोसाल्ला ओढाएर पुस्कृत हो ।

स्वा. हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कार केन्जो खबरकर्मी विष्णु अधिकारीलाई प्रदान गरिएको छ । पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीद्धारा आफ्ना दिवंगत बुबा आमाको नाममा स्थापित यो पुरस्कार प्रदान गरिएका अधिकारीलाई नगद १० हजार, सम्मान पत्र हस्तान्तरण गरिनुका साथै दोसल्ला ओढाइएको थियो । यसै गरी, प्रजापति–जालपादेवी खेलकुद पत्रकारिता पुरस्कारवाट इगल एफएमका स्टेसन म्यानेजर उपेन्द्र एत्तेनलाई प्रदान गरिएको छ । आफ्ना दिवंगत बुमा आमाको नाममा फिदिमका व्यावसायी हरि नेपालले स्थापित यो पुरस्कार वापत एत्तेनलाई नगद १० हजार, सम्मान पत्र र दोसल्ला ओढाइएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको वार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा पत्रकारहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य केरुङ सहित फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती, फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, पुरस्कार संस्थापकहरु, जिल्ला स्थित राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार महासंघ केन्द्र र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु सहितले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कृत पत्रकारहरुले पत्रकारिता क्षेत्रमा रहेर समाजलाई सुसुचित गर्न खेलेको भूमिकाका आधारमा छनौट गरिएको पत्रकार महासंघ शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ३ : ११ बजे