दुवै पाँचथरे, दुवै साहित्यकार, दुवै आदिवासी जनजाति लिम्बू समुदायका, दुवै नेम्बाङ थरका, अझ दुवै जना काइँला समेत । फरक त यति मात्र रह्यो कि उपनाममा पुरस्कार वितरण गर्ने- बैरागी काइँला र पुरस्कार लिने- भित्रागी ‘काइँला’ ।
मंगल बेघा
१८ पौष, काठमाण्डौ । कार्यक्रमको सभाकक्ष अतिथि र सहभागीले खचाखच थियो । कार्यक्रम सुरु भएपछि सञ्चालकले मञ्च अगाडि निम्त्याए– पुरस्कृत व्यक्तित्व भित्रागी काइँलालाई । र, उनलाई पुरस्कार प्रदान गर्न अनुरोध गरियो- कार्यक्रमका प्रमुख अतिथि- वैरागी काइँलालाई । वैरागी काइँलाले भित्रागी काइँलालाई बधाई दिँदै थमाए- कियाचु इमानसिंह चेम्जोङ पुरस्कार ।
यो दृश्य थियो- ललीतपुर स्थित चुम्लुङहिममा बुधबार आयोजित इतिहासकार इमानसिंह चेम्जोङको १२२ औं जन्मजयन्ती तथा कियाचु इमानसिंह चेम्जाेङ पुरस्कार वितरण समारोहको । कार्यक्रममा आयामेली कवि बैरागी काइँलाले भित्रागी काइँलालाई सो पुरस्कार प्रदान गरेका हुन् । संयोगक के जुर्यो भने पुरस्कृत व्यक्तित्व तिलबिक्रम नेम्बाङ र पुरस्कार वितरण गर्ने पनि तिलबिक्रम नेम्बाङ नै । दुवै पाँचथरे, दुवै साहित्यकार, दुवै आदिवासी जनजाति लिम्बू समुदायका, दुवै नेम्बाङ थरका, अझ दुवै जना काइँला समेत । फरक त यति मात्र रह्यो कि उपनाममा पुरस्कार वितरण गर्ने- बैरागी काइँला र पुरस्कार लिने- भित्रागी ‘काइँला’ ।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथि आयामेली कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलबिक्रम नेम्बाङ उर्फ बैरागी काइँलाले फिदिम नपा ८, पाँचथर निवासी तिलबिक्रम नेम्बाङ उर्फ भित्रागी काइँलालाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशी नगद ५० हजार र प्रमाण पत्र रहेको चुम्लुङका अध्यक्ष प्रेम येत्तेनले जानकारी दिए ।
चुम्लुङको केन्द्रीय समितिले प्रदान गर्ने सो पुरस्कार यस वर्ष भित्रागी काइँलाको कृति केदाप्पा निङवाहा? का लागि प्रदान गरिएको चुम्लुङले जनाएको छ । लिम्बू भाषा र सिरिजङगा लिपिमा लेखिएको सो कृति २०६७ सालमा प्रकाशित भएको थियो । लिम्बू साहित्य प्रतिष्ठानका लागि शान्तिला तुम्बापो, हाङसाम र नामसाङ नेम्बाङद्धारा प्रकाशित सो कृति कविता संग्रह हो ।
पुरस्कार ग्रहणपछि भित्रागी काइँलाले आफ्नो कर्तव्य सम्झेर मातृभाषाको साहित्यमा गरिएको लगानीको मूल्याङ्कन भएको र यसवाट नयाँ पुस्तालाई समेत यस क्षेत्रमा लाग्न प्रेरणा मिल्ने प्रतिक्रिया दिए । “कर्तव्य सम्झेर मातृभाषाको साहित्य लेखनमा लामो समयदेखि लागियो, मेरो लगानीको मूल्याङ्न भएछ”– उनले भने– “निरन्तरता दिएमा मुल्याङ्न अवश्य हुन्छ भन्ने प्रेरणा नयाँ पुस्ताले लिउन् ।”
पुरस्कृत लेखक भित्रागी काइँला फिदिम वजारलाई कर्मथलो बनाएर व्यावसायसँगै साहित्य लेखनमा समेत सकृय छन् । सुरुवाती समयमा झापाको दमकमा रहेर पत्रकारिता सहित साहित्य लेखनमा रहेका काइँला पछिल्लो समय गृह जिल्ला फर्किएपछि विशेष गरी मातृभाषाको सिर्जनामा कमल चलाईरहेका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सचिव समेत रहेका काइँलाका लिम्बू भाषा र सिरिजङगा लिपिमा फुटकर कथा, नाटक लगायतका विधामा रचनाहरु प्रकाशित छन् भने खस नेपाली भाषामा समेत कविताहरु प्रकाशित छन् ।
प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार ९ : ०९ बजे
प्रतिक्रिया