पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२१ मंसिर, पाँचथर । जनप्रतिनिधिहरुलाई सम्मान र थुम समिति गठन गर्दै लिम्बू थरगत संस्था (याक्थुङ सयङ)को प्रथम याङवरक थुम भेला शनिबार याङवरक गाउँपालिका ४ मेदिबुङमा सम्पन्न भएको छ ।

मेदिबुङ स्थित सामुदायिक भवनको सभाकक्षमा सम्पन्न भेलाको उद्घाटन सत्रमा साविकको याङवरक थुमवाट निर्वाचित लिम्बू समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । साविकको याङवरक थुममा वर्तमान भौगोलिक संरचना अनुसार पाँचथर जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिका, ताप्लेजुङ जिल्लाको सिदिङबा, सिरिजङगा र पाथिभरा याङवरक गाउँपालिका रहेका छन् । यस अनुसार सो क्षेत्रमा निर्वाचित गाउँपालिकाका दुई जना अध्यक्ष, दुई जना उपाध्यक्ष र १७ जना वडा अध्यक्षहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

यसरी सम्मानित हुने जनप्रतिनिधिहरुमा पाँचथर जिल्लाको याङ्वरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया (सुबास), उपाध्यक्ष बाबा मेन्याङबो रहेका छन् । यसै गरी, ताप्लेजुङ जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बा, सिरिजङगा गाउँपालिकाका उपाध्यक्ष डा.चीत्रकुमार माबो रहेका छन् ।

सम्मानित हुने वडा अध्यक्षहरुमा पाँचथरको याङवरक गाउँपालिका वडा नं. २ का अध्यक्ष देउकुमार योङहाङ, वडा नं. ४ का अध्यक्ष सबिनकुमार माबो र वडा नं. ६ का अमृतबहादुर योङहाङ रहेका छन् । यसै गरी, हिलिहाङ गाउँपालिका वडा नं. १ का अध्यक्ष सन्तोष लिङदेन, वडा नं. २ का अध्यक्ष भिम प्रसाद हेम्ब्या, वडा नं. ३ अध्यक्ष बिरेन्द्रकुमार योङहाङ, वडा नं. ५ का अध्यक्ष बिर्खबहादुर सुहाङ, वडा नं. ६ का अध्यक्ष गणेशप्रसाद योङहाङ ज्यू, वडा नं. ७ का अध्यक्ष धनकुमार लिम्बू रहेका छन् ।

सम्मान पाउने ताप्लेजुङका वडाअध्यक्षहरुमा सिरिजङगा गाउँपालिका वडा नं. १ का अध्यक्ष श्री दिलप्रसाद बोखिम, वडा नं. ६ का अध्यक्ष सुक्रराज लिम्बू रहेका छन् । सिदिङबा गाउँपालिका वडा नं. २ का अध्यक्ष पुर्णकुमार माङमु, वडा नं. ४ का अध्यक्ष पुर्णकुमार लिम्बू, वडा नं. ५ का अध्यक्ष अम्वरबहादुर लिम्बू र वडा नं. ६ का अध्यक्ष रत्नकुमार लिङदेन रहेका छन् । यसै गरी, पाथिभरा याङ्वरक गाउँपालिका वडा नं. २ का अध्यक्ष बलुराम मेन्याङबो र वडा नं. ४ का अध्यक्ष बलबहादुर लिम्बू लाई समेत सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

सवै जनप्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा पूर्व मन्त्री श्रीप्रसाद जवेगुले सम्मान पत्र र कार्यक्रमका अध्यक्ष थुम संयोजक संविधान सभा सदस्य विश्वदिप लिङदेनले दोसल्ला ओढाएर सम्मान गरेका थिए । उद्घाटन सत्रलाई संवोधन गर्दै प्रमुख अतिथि जवेगूले आदिवासी जनजाति समुदायले भूमि मात्र नभएर आफ्नो संस्कार संस्कृतिको समेत जगेर्ना गर्नु पर्ने बताए । “हाम्रा ऐतिहासिक भूमिको संरक्षण गर्ने विषय संविधानले नै सुनिश्चित गरेको छ, त्यसमा स्थानीय सरकारको समेत ध्यान पुग्न पर्यो”– उनले भने– “भूमि मात्र नभएर हाम्रा साँस्कृतिक सम्पदाका रुपमा रहेका संस्कार संस्कृतिको समेत संरक्षण एवं पुस्तान्तरण हुनु आवश्यक छ ।” पछिल्लो समय लिम्बू समुदायबीच विवाद वढेको प्रति चिन्ता व्यक्त गर्दै उनले आपसी सद्भाव, भाईचारा र भातृत्वको विकास गर्नु पर्ने उल्लेख गरे ।

कार्यक्रमलाई नेपाली काँग्रेसका जिल्ला सभापति रुपनारायण जवेगू, नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद सापकोटा (विमल), नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विशाल रसाईली, सम्मानित याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङयाले समेत संबोधन गरेका थिए । कार्यक्रमको औचित्यमाथि याक्थुङ थरगत संस्था सहजिकरण समूहका केन्द्रीय संयोजक नन्द कन्दङवाले प्रष्ट पारेका थिए । याङवरक थुम संयोजक विश्वदिप लिङदेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई भेला आयोजक समितिका सदस्य महेन्द्र योङयाले सञ्चालन गरेका थिए भने याङवरक गाउँपालिकाका उपाध्यक्ष एवं भेला समितिका सहसंयोजक बाबा मेन्याङबोले स्वागत मन्तव्य राखेका थिए ।

याक्थुङ सयङको थुम समिति गठन

लिम्बू थरगत संस्था (याक्थुङ सयङ) को प्रथम याङवरक थुम भेलाले याङवरक थुम समिति गठन गरेको छ ।

साविक याङवरक थुममा बसोबास गर्ने लिम्बूहरुको थरगत संस्थाका प्रतिनिधिहरुको भेलाले थुम समिति गठन गरेको हो । नव गठित समितिको संयोजकमा विश्वदिप लिङदेन र सहसंयोजक मचिन्द्रप्रसाद बेघा चयन भएका छन् । समितिको सदस्यहरुमा जीवन ताम्लिङ, महेन्द्र सेलिङ, तारा हेम्ब्या र सविन माबो रहेका छन् ।

थुमको नसमेटिएका भूगोलका प्रतिनिधिरुलाई मनोनयन गरी समितिलाई पूर्णता दिईने नव गठिन समितिका सदस्य सविन माबोले जानकारी दिए । यस पछि पालिका स्तरमा समेत भेला र समिति गठन गरिने सदस्य माबोले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १० : ०४ बजे