पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम वाईवाई अन्तराष्ट्रिय किरात गोल्डकप– २०८० आगामी मंसिर १५ गतेदेखि पाँचथर जिल्लाको सदरमुकाम फिदिममा आयोजना हुने भएको छ ।

पाँचथर फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका सम्बन्धमा फिदिममा आईतबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो । प्रतियोगितामा दार्जेलिङ एफ.सि. भारत, हिमालयन शेर्पा क्लब काठमाण्डौ, कर्णसिङ सोनाम स्मृति फुटबल क्बल ताप्लेजुङ, विर्तामोड युनाईटेड झापा, डीएफसी मोरङ, रेडहर्स क्लब इलाम, मितेरी फुटबल क्बल तेह्रथुम र आयोजक सहित जम्मा ८ टिमको सहभागिता रहने क्लबका सचिव राजु राईले जानकारी दिनु भयो ।

फिदिम माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितको फाईनल खेल मंसिर २३ गते हुनेछ । जिल्लामा आयोजना भएका प्रतियोगिताहरु मध्ये हालसम्मकै सर्वाधिक राशी पुरस्कार वितरण गरिने क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले बताउनु भयो । प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफि मेडल र प्रमाण पत्र हात पार्नेछन् भने उपविजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ, ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न जम्मा ५१ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष केप्छाकी मगरले बताउनु भयो । वाईवाई चाउचाउ प्रमूख प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न अन्य विभिन्न सरकारी तथा गैरसरकारी संस्था तथा व्यक्तिहरुसँग सहयोग संकलन गरिने उहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : १६ बजे