पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । जनप्रतिनिधि निर्वाचित भएको करीब साढे चार वर्षमा पाँचथरको फिदिम नगरपालिकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति हाँसिल गरेको छ ।

फिदिम नगरपालिकाका उपप्रमुख उर्मिला प्रधान (श्रेष्ठ)ले तयार पार्नुभएको संक्षिप्त प्रगति विवरणअनुसार पूर्वाधार निर्माणका क्षेत्रमा धेरै उपलब्धि प्राप्त भएका हुन् । सडक सञ्जाल निर्माण, विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचनाहरुको निर्माण, विद्यालय, स्वास्थ्य संस्था लगायतका संरचना निर्माण, कृषि तथा सिंचाईको विकास, सुशासन प्रवद्र्धन लगायत कार्यमा नगरपालिकाले उल्लेख्य उपलब्धिहरु हाँसिल गरेको उपप्रमुख प्रधानले प्रस्तुत गर्नुभएको प्रगति विवरणमा उल्लेख छ ।

फिदिम नगरपालिकाले नगर चत्रपथ निर्माणको अवधारणा ल्याई १४ ओटै वडामा मुख्य वस्तीलाई जोड्न सडकको २१५ किलोमिटर नयाँ ट्र्याक विस्तार गरेको छ । यस्तै सडक स्तरोन्नतिअन्तर्गत १८७ किलमेटिर सडकको चौडाई वृद्धि गरिनुका साथै ३.५ किलोमिटर सडक ग्रावेल, ८ किलोमिटर सोलिङ, २.१७ किलोमिटर कालोपत्रे र १.४५ किलोमिटर सडक सतह ढलान सम्पन्न भएको छ ।

यस्तै मुख्य सडक संरक्षण र दीगोपनाका लागि ६ किलोमिटर नाली निर्माण, ३५ वटा कजवे कल्भर्ट निर्माण र ४ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ । यी समग्र कार्यहरु सहित वडाहरुले गरेको प्रयासबाट नगरपालिका भित्र ८६० मिलोमिटर सडक संरचना सवारीका साधन सञ्चालनयोग्य बनेको फिदिम नगरपालिकाले जनाएको छ ।

उक्त अवधिमा फिदिम नगरपालिकाले प्रशासकीय भवन सहित ११ वटा वडा कार्यालय भवनहरु, १९ वटा सामुदायिक विद्यालयका भवनहरु, १८ वटा सामुदायिक भवनहरु, ७ वटा स्वास्थ्य चौकी भवनहरु र एउटा पर्यटन सूचना केन्द्र निर्माण गरेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ पछि फिदिममा वडा नं. ४ वाहेक सबै वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन हुनेछन् ।

यस अवधिमा विद्यालय र सार्वजनिक स्थानमा गरी फिदिम नगरपालिकाले ३९ वटा शौचालय निर्माण गरेको छ । तर जग्गा अभावका कारण फिदिम बजार क्षेत्रमा भने सार्वजनिक शौचालय निर्माण गर्न नसकिएको उक्त कार्यालयले जनाएको छ ।

यस्तै फिदिम नगरपालिकाले ८.५ किलोमिटर पर्यटक पदमार्ग र ती पदमार्गमा छ वटा पर्यटक विश्राम घर र टहरा निर्माण गरेको छ । फिदिम–२ मा एउटा भ्यूटावर तथा एउटा हेलिप्याड निर्माण सम्पन्न भएको उपप्रमुख प्रधानले सार्वजनिक गर्नुभएको प्रगति विवरणमा उल्लेख छ ।

साढे चार वर्षको अवधिमा नगरपालिकाले १३.५ किलोमिटर पक्की साना सिंचाई कुलो निर्माण गर्नुका साथै १५ वटा कुलो मर्मत गरी ३५० हेक्टर क्षेत्रफल जमिनमा सिंचाईको प्रवन्ध गरेको छ ।

यस्तै यस अवधिमा कमजोर आर्थिक अवस्थाका १०९७ घर परिवारको फुसका छानो हटाई जस्तापाता वितरण गरिएको, ब्यक्ति तथा संघ संस्थाहरुलाई १८३३ बण्डल जस्तापाता वितरण गरिएको र खानेपानी सुविधा पु¥याउन १४६ किलोमिटर खानेपानी पाइप वितरण गरिएको उपप्रमुख प्रधानले जानकारी दिनुभयो ।

कृषि तथा पशुपंक्षीको ब्यवसायिक विकासमार्फत नगरवासीको आम्दानी वृद्धिका लागि नगरपालिकाले एक हजार २०० थान प्लाष्टिक टनेल, ८५ थान प्लाष्टिक पोखरी र १५० थान मिनिटिलर वितरण गरेको छ ।

नगर भित्रका १४ वटै वडामा कम्तिमा एक वटा पर्ने गरी कृषि पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याई ब्यवसायिक उत्पादनमा जोड दिइएको नगरपालिकाले जनाएको छ । यस्तै फिदिम नगरपालिकाले यस अवधिमा पाँच वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनुका साथै दुई स्थानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।

नगर विकास पाश्वचित्र तयार पार्नुका साथै नगरपालिकाले नगर आवधिक योजना समेत तयार पारेको छ । यस्तै पर्यटन विकासका लागि लब्रेकुटी–सिलौटी पर्यटकीय गुरुयोजना, फाल्गुनन्द सर्किट गुरुयोजना, भ्यूटावर पदमार्ग लगायत योजना तयार पारेको जनाएको छ ।

फिदिम नगरपालिकाले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यको अनुसरण गर्दै स्थानीय स्तरमा ‘समृद्ध शहर, फिदिम नगर’को परिकल्पना र ‘नगरवासीको सपना, समग्र समृद्धिको स्थापना’ नामको अभियान अगाडि बढाएको छ । फिदिम नगरपालिकामा १४ वटा वडाहरु रहेका छन् ।

यस नगरमा साविकको नगरोन्मुख फिदिम गाविस सहित चोकमागू, सिवा, लुम्फाबुङ, रानीटार, नांगीन र लुङरुपा गाविस तथा साविक याङनाम गाविसको आधा भाग समेटिएको छ । जिल्लाको एकमात्रै नगरपालिका फिदिमको कूल जनसंख्या ४९२०१ रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १२ : ३६ बजे