पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । अविरल वर्षापछि गत कात्तिक २ गते झरेको पहिरोले पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाका मनकुमार योङहाङको गोठ बगायो । गोठमा रहेका चार माउ गाई र एउटा कोरली पहिरोमा पुरिए । पहिरोको त्रास बढेपछि योङहाङको परिवार नजिकैको विद्यालयमा आश्रय लिएर बस्यो । एक सातासम्म विद्यालयमा रहेपछि पहिरोको त्रास कम हुँदै गयो । त्यसपछि योङहाङ परिवार घर त फर्कियो, तर आम्दानीको बाटो बन्द भइसकेको थियो ।

योङहाङ परिवारको आम्दानीको मुख्य माध्यम नै दूध विक्री थियो । “त्यतिखेर १० लिटर दूध बेच्दै थियौँ । बाँकी तीन वटा गाई ब्याउन लागेका थिए”, योङहाङले भन्नुभयो, “यतिबेला ३५ लिटर दूध बेच्दै हुन्थेँ । तर विदाताले ठगेका होलान् ।” पहिरोले खेतबारी क्षतविक्षत भएपछि खेती लगाउने स्थिति छैन् । पशुपालन बाहेक यहाँ मकै र आलु खेती हुन्छ । तर मकै पाक्न १० महिनामा लाग्छ ।

“अरु जागिर–सागिर थिएन । दूध बेचेर नानीहरु पढाउने, आफू पनि पालिने गरिन्थ्यो”, योङहाङले भन्नुभयो, “ऋणको ब्याज पनि तिर्दै थिएँ, अब कसरी ऋण तिर्ने भन्ने टुङ्गो छैन् ।” पहिरोमा परी योङहाङ परिवारका मात्रै छ लाख मूल्य पर्ने गाई मरेका थिए । दूध बेचेर बचाएको अलिअलि पैसा अहिलेसम्म खर्च गर्दै सकिएपछि योङहाङ परिवार सरकारको बाटो कुरेर बसेको छ ।

“अबगाई किन्न पैसा छैन् । अहिलेसम्म कुनै सहयोग वा क्षतिपूर्ति पाएका छैनौं”, योङहाङले भन्नुभयो । क्षतिपूर्ति पाउने आशामा योङहाङ सहित स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा क्षतिको विवरण पेश गरेका थिए । बाढी पहिरोबाट प्रभावित क्षेत्र अवलोकनमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनीहरु राँके बजार नपुगेका पनि होइनन् ।

“क्षतिपूर्ति दिन्छ भन्ने सुनेर प्रधानमन्त्रीलाई भेट्न गएका थियौँ, तर हामीलाई भेट्न र बोल्न समेत दिएनन्”, योङहाङले भन्नुभयो । अहिले जिविका चलाउन समस्या परेको त छ नै, आउँदो वर्षायाममा पुनः पहिरो झरेर गाउँबाटै विस्थापित हुनुपर्ला कि भन्ने चिन्तामा स्थानीयवासीले दैनिकी गुजारिरहेका छन् ।

गत कात्तिक २ गते वेमौसमी वर्षापछि पहिरो जाँदा फाल्गुनन्द–३ निबुखोलाका हर्कबहादुर नेम्वाङको घर बाहेक सबै कुरा बगायो । “खेतीपाती गर्ने ठाउँ छैन् । घर मात्रै टक्रक्क उभिएको छ”, नेम्वाङले सुनाउनुभयो, “पहिरो पुङपुङ झ¥यो । सुंगुर र कुखुरा पहिरोमा बगे । अब पानी परेपछि घरमा बस्न सक्ने अवस्था छैन् ।”

प्रभावितहरुले पहिरोमा भएको क्षतिको विवरण मुचुल्का बनाई जिल्ला प्रशासनमा पेश गरेका छन् । तर अहिलेसम्म राहत, क्षतिपूर्ति वा सहयोग आउनु त परैको कुरा सहयोग पाउनेबारे कुरा समेत हुन छाड्दा पहिरो प्रभावितहरु निराश छन् ।

“नेताहरु आएर सबै घुमेर हेरे । तिमीहरुले क्षतिपूर्ति पाउँछौ, जिल्ला प्रशासन कार्यालयबाट पेश गर्नु भनेका थिए । तर खोई ?”, नेम्वाङले प्रश्न गर्दै भन्नुभयो “प्रधानमन्त्री आए, तर क्षतिपूर्ति आएन् । त्यहि मन्त्री देखाउनलाई मात्रै आएका थिए होला ।” प्रधानमन्त्री स्थलगत निरीक्षण गरेको दुई महिना वितिसक्दा सहयोग नपाउँदा उनीहरु निराश बनेका हुन् ।

फाल्गुनन्द–३ गुम्बाडाँडाकै टंकबहादुर तामाङको परिवार यतिबेला पहिरोमा पुरिएको भान्साघर र गोठका सामग्री निकाल्न उत्खननमा ब्यस्त छ । पहिरोमा तामाङको गाई र सुंगुर पुरिएका थिए । तर अहिलेसम्म कुनै सहयोग नपाएको तामाङ वताउनुहुन्छ ।

योङहाङ, नेम्वाङ र तामाङ जस्तै फाल्गुनन्द गाउँपालिका–३ का मात्रै ३२ घरमा बाढी र पहिरोले क्षति पु¥याएको छ । यहाँका दुई जना मृतकका परिवारले रु. दुई लाखका दरले राहत पाउनु बाहेक बाढी तथा पहिरो प्रभावित कसैले पनि कुनै सहयोग पाएका छैनन् ।

फाल्गुन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका भने बाढी पहिरोका प्रभावितलाई मल्हमपट्टि लगाउने सोच बनाउने बनाइएको वताउनुहुन्छ । “सानो रकम भएपनि सहयोग गर्ने सोच बनाएपनि दिन सकेका छैनौँ”, कुरुम्बाङले भन्नुभयो । विस्थापितहरुलाई घर निर्माणका लागि तीन तहका सरकारको साझेदारीमा रकम दिने परिपत्र आएपछि गाउँपालिकाले दिनसक्ने राहत पनि रोक्नु परेको उहाँले वताउनुभयो ।

“फाल्गुनन्दमा मात्रै १०० बढी परिवार विस्थापित भएका छन् । ३०० बढी घर अति जोखिममा छन् । सयौँ पशु चौपाया मरेका थिए”, कुरुम्बाङले भन्नुभयो, “सहयोग र क्षतिपूर्ति दिन धेरै बजेट आवश्यक पर्छ । बाली, खेतबारी लगायतमा भएको क्षतिको त हिसाब गरेर सक्ने अवस्था नै छैन् ।”

अध्यक्ष कुरुम्बाङ बजेट अभावले क्षतिपूर्ति उपलब्ध गराउन कठिन पर्ने वताउनुहुन्छ । तर गाउँपालिकावासी समस्यामा गुज्रिरहँदा गाउँपालिका भने तालीम र गोष्ठि सञ्चालनमै ब्यस्त छ । बाढी र पहिरोको प्रकोपपछि न त गाउँपालिकाले बजेट रकमान्तर गरी स्रोतको ब्यवस्था गरेको छ, न त माथिल्ला सरकारसँग प्रभावकारी पहल नै ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १२ : ३१ बजे