पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथामका लागि पाँचथरमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश पालना हुन सकेको छैन् ।

मन्त्रिपरिषदको पुस ३० गतेको निर्णय, सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम माघ ७ गते मध्यरातदेखि अर्को सूचना जारी नहोउञ्जेलसम्मका लागि प्रशासनले २७ बुँदे आदेश जारी गरेको थियो । आदेशमा केही क्षेत्रमा प्रतिबन्धात्मक ब्यवस्था रहेका भएपनि आदेशको अहिलेसम्म पालना हुन सकेको छैन् ।

आदेशअनुसार भीड हुने सबै कार्यक्रम माघ मसान्तसम्म नगर्ने, गोष्ठि, सेमिनार, समीक्षा, बैठक लगायत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुने, मानिसको भीडभाड हुने स्थानहरु तथा विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्ने, धार्मिक स्थलहरुमा नित्यपूजा, ध्यान र प्रार्थना मात्रै गर्ने, सबै सार्वजनिक निकायमा खोपकार्ड अनिवार्य हुने छ ।

सपिङ मल लगायत ब्यापारिक केन्द्रमा एकै पटकमा २५ जनाभन्दा बढी भेला नहुने, खेलकुद हुने स्थान तथा पार्टी प्यालेसमा कूल क्षमताको एक तिहाईमा नबढ्ने गरी बढीमा ५० मानिसको उपस्थितिमा गतिविधि गर्ने, धार्मिक र साँस्कृतिक क्रियाकलापमा ५० जनाभन्दा बढी भेला नहुने समेत प्रशासनले निर्देशन दिएको छ ।

यस्तै सार्वजनिक यातायातका लागि प्रशासनले नौं बुँदे मापदण्ड तय गर्दै सवारीका साधन दैनिक निसङ्क्रमण गर्न तथा स्वास्थ्य सुरक्षाका मापदण्डको कडाईका साथ पालना गर्न आदेशमा निर्देशन दिइएको छ ।

यस्तै होटल तथा रेस्टुरेण्ट सञ्चालनका लागि समेत प्रशासनले नौं वुँदे आदेश जारी गर्दै सबै प्रकारका सेवा तथा ब्यवसायमा अग्रपङ्तीमा काम गर्ने ब्यक्तिहरुको साप्ताहिक रुपमा एण्टिजेन परीक्षण गर्न, कोभिड–१९ को लक्षण देखिए अनिवार्य क्वारेण्टिन बस्न, सार्वजनिक तथा निजी सेवा प्रदायकले सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिइएको छ ।

यस्तै नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न आग्रह गर्दै प्रशासनले नौं वुँदे आदेश जारी गरेको छ । सरकारी निकायलाई सङ्क्रमण रोकथाममा सहयोग गर्न आग्रह गर्दै प्रजिअ सुरेश न्यौपानेद्वारा जारी आदेशमा आदेशका प्रावधानहरु अवज्ञा भएमा कानूनबमोजिम कारबाही हुने स्पष्ट पारिएको छ ।

तर आदेश जारी भएको एक साता वित्न लाग्दा समेत भीडभाड हुने कार्यक्रमहरु जारी छन् । सरकारी तथा सार्वजनिक निकायहरु, होटल तथा ब्यवसायिक प्रतिष्ठानहरु, सवारीका साधनहरु लगायतमा समेत तोकिएका मापदण्ड पूरा भएका छैनन् । यसले सङ्क्रमण रोकथाम चुनौतिपूर्ण हुने देखिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १२ : २३ बजे