पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

१–चैत्र, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडामा स्वस्थ जीवन शैली सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो । मानिसका आहार–विहार, दिनाचर्या, ऋतुचर्या, रात्रीचर्या तथा सम्पूर्ण जीवनशैलीमा सकारात्मक परिवर्तन गरी नसर्ने रोगहरुको न्यूनिकरण गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखिकरण कार्यक्रममा मानिसको जीवनशैली व्यवस्थापन, तनाव व्यवस्थापन, स्वस्थ आचरणको पालन, स्थानीय जडिबुटीको परिचय तथा प्रयोग, प्रमुख नसर्ने रोगहरु तथा यसका जोखिम तत्वहरु लगायतका विषयमा छलफल तथा प्रयोगात्मक योग र ध्यान अभ्यास गरिएको थियो ।

फाल्गुनन्द– १, स्थित वडाकार्यालयको भवनमा सञ्चालन भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरु, आमा समुहका प्रतिनिधिहरु, जन निर्वाचित प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक, वडाका कर्मचारी, कृषक समुहका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लगायत ३० जनाको सहभागिता रहेको थियो । फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा प्रमुख बरिष्ठ कविराज निरीक्षक राजु पराजुली लगायतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को २ लाख ५० हजार रुपैयाँको कार्यक्रम अन्तर्गत सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिने फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ९ : २९ बजे