९–जेठ, पाँचथर । जिल्लाको सुदुर पूर्वको बस्ती च्याङथापु, फलैचा, ओयाम लगायतका ठाउँमा यस वर्ष पनि विपदले सताएको छ । शुक्रबार रातीदेखि मुसलधरे पानी परेपछि आएको वाढि पहिरोमा परी ठुलो मात्रामा भौतिक संरचनामा क्षती पु¥याएको हो ।
याङवरक गाउँपालिकाको वडा नं. १, २ र ३ मा शनिबार विहानसम्म परेको पानी परेपछि आएको वाढि पहिरोले घर, भान्सा घर, चौपाया, गोठ लगायतका संरचनाहरु वगाएको छ । यसैगरी, झोलुङ्गे पुल, पक्की पुल, विद्युत आयोजना, मन्दिर, सडक, खानेपानी, सिँचाई लगायतका संरचनाहरुमा क्षती पुगेको प्रहरी र स्थानीले जानकारी दिएका छन् ।
घर, गोठ र मन्दिरमा क्षती
बाढि पहिरोले याङवरक गाउँपालिका १ का कबिर खवास घर र गोठ बगाएको छ । जस्ताको छानो, ढुङगा माटोको गारो भएको २ दुई तले घर बाढी पहिरोले बगाएको हो । उनको घर नजिकै गाई गोठमा रहेको ३ वटा गोरु समेत बगाएको प्रहरीले जनाएको छ । यसै गरी, उनका छिमेकी मोहन लाल खवासको जस्ताको छानो,ढुङगा माटो गारो भएको २ दुई तल्ले घर बाढी पहिरोले घर बगाएको छ । सोही वडाको विरुवा बस्तीमा गंगाप्रसाद बेघाको जस्ताको छानो, ढुङगा माटो गारो र चित्राको बेरा भएको २ दुई तल्ले घरमा माथिबाट पहिरो आई घर बगाएको छ । सोही बस्तीका भगीमान बेघाको घरमा समेत पहिरोले क्षती पु¥याएको छ भने दुवै परिवारलाई छिमेकीले आश्रय दिएर राखेका छन् ।

वाढि पहिराले याङवरक गाउँपालिका ३ मा रहेको गुप्तेश्वर महादेवको मन्दिरमा क्षती पु¥याएको सो वडाका अध्यक्ष विमल राईले बताए । पुनः निर्माणको क्रममा रहको सो मन्दिरको संरचना भत्किएको उनले जानकारी दिए ।
पुल तहस–नहस, सडक अवरुद्ध
वाढि पहिरोले याङवरक गाउँपालिका वडा नं. १ को लामिटारमा रहेको च्याङथापु वजर र चाम्लिङ डाँडा जोड्ने झोलुङगे पुल बाढीले क्षति पु¥याएको छ । सोही गाउँपालिका वडा नं. २ मेवा खोला स्थित दोभानेमा रहेको खोलामा रहेको झोलुङ्गे पुलमा समेत क्षती पु¥याएको वडा अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।
वाढिले पुल र सडक समेत बगाएपछि यातायात अवरुद्ध भएको छ । वाढि पहिरोको वितण्डाले मध्यपहाडी लोकमार्ग अन्तर्गत थर्पु–चिवाभञ्ज्याङ सडकखण्ड सवारी साधन चल्न सकेका छैनन् । सो सडकखण्डको ओयाम वजारको पूर्व पश्चिम दुवैतिर वाढि आएकाले सडक अवरुद्ध भएको वडा नं. ३ का अध्यक्ष विमल राईले जानकारी दिए । यसै गरी, सोही गाउँपालिका २ दोभाने स्थित पुष्पलाल मध्यपहाडी लोकमार्गमा रहेको मेवा खोलाको निर्माणाधिन पक्की पुल समेत बगाएको छ । याङवरककै वडा नं. ४ थर्पु र सिदिङबा गाउँपालिका जोड्ने इन्द्रावती खोलमा रहेको पक्की पुलमा समेत सामान्य क्षती पु¥याएको स्थानीयले जानकारी दिए ।

यसै गरी, तमोर करीडोर सडक खण्ड अन्तर्गत हिलिहाङ गाउँपालिका २ स्थित लिम्बुनी पुलमा निर्माणाधिन बेली ब्रिजमा समेत वाढीले क्षती पु¥याएको छ । याक्थुमहाङ निर्माण सेवा कम्पनीले निर्माण गरिरहेको सो बेली ब्रिजको सरसामानहरु बगाइ क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
विद्युत अवरुद्ध, आयोजनाहरुमा क्षती
अविरल परेको पानीवाट आएको वाढिले विद्युत आयोजनाहरुमा क्षती पु¥याएपछि प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । वाढिले याङवरक गाउँपालिका २ फलैचामा सञ्चालित हरिहृदुलय मेवाखोला जलविद्युत आयोजनामा क्षती पु¥याएको छ । यसै गरी, वडा नं. ३ स्थित इङ्वा हाइड्रो पावरमा समेत क्षती पु¥याएको वडाअध्यक्ष विमल राईले जानकारी दिए । सोही गाउँपालिका ४ स्थित कावेली खोलामा रहेको कावेली जनविद्युत आयोजनामा समेत क्षती पुगेको प्रहरीले जनाएको छ ।

सिँचाई तथा खानेपानीमा क्षती
वाढिले याङवरक १ मा वनपाला– एकराते सिँचाइ योजनामा क्षती पु¥याएको छ । निर्माण कार्य सम्पन्न हुन लागेको सिँचाई योजना वगाएको उपभोक्ता समितिका अध्यक्ष जहरमान बेघाले बताए । यसै गरी, सोही वडा ठिङगेपुरमा सञ्चालित सिँचाई आयोजनामा समेत क्षती पु¥याएको स्थानीय सूर्यमान बेघाले जानकारी दिए । याङवारक गाउँपालिका ४ सिगेवा स्थित शिवा खोला वाराङ सिचाईको पक्कि कुलो बगाई पुर्ण रूपमा रूपमा क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोले तीन ओटै वडाका विभिन्न खानेपानीमा क्षती पु¥याएको स्थानीले जानकारी दिए । पानीको मुहान र वितरण लाईनमा क्षती पु¥याएपछि खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् । याङवारक गाउँपालिका ४ सिगेवा स्थित टिकारामे, डल्लेढुङ्गा र सिगेवा कामिगाऊ झोलुङ्गे खानेपानी आयोजनामा पाईप बगाएर क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ । सोही वडाको मेची पहाडी खानेपानी उपभोक्त समितिको मुहानको ट्याङकी पुरी क्षति भएको स्थानीयले बताए ।
बाली र अन्य क्षती
वाढि पहिरोले कृषकका लाखौं अन्न तथा नगदे बालीमा क्षती पुगेको छ । कृषकहरुले लगाएको धान, मकै लगायतको अन्न बाली वगाएको छ भने अलैची बारीमा समेत क्षती पुगको स्थानीयले बताए । याङवरक गाउँपालिका १ विरुवाका पूर्ण बेघाले बस्तीमा लाखौं आम्दामी हुने अलैची बारी पहिरोले बगाएको बताए । वाढि पहिरोले क्षती पु¥याएका अन्य वडाहरुमा समेत अन्न तथा नगदे बालि वगाएको कृषकहरुले बनाएका छन् ।
छैन विपद प्रतिकार्य योजना
जिल्लामा वर्षेपिच्छे विपदले क्षती पु¥याउँदा समेत प्रभावकारी प्रतिकार्य योजना लागू भएको छैन । स्रोत साधनले भ्याएसम्म स्थानीय प्रशासन, स्थानी तह, विपद व्यवस्थापन समितिले उद्धार र राहत वितरणका काम गरिरहेका छन् । तर क्षतीको विवरण अनुसार प्रभावकारी कार्य हुन सकेको छैन । सडक, सिँचाई, खानेपानी जस्ता पूर्वाधार विकासका योजनाहरुमा क्षती पुग्दा सोको तत्काल पुनःनिर्माण गरी जनजीवन सामान्य बनाउन सक्ने क्षमता स्रोत साधनका दृष्टिकोणले पनि ति निकायहरुसँग देखिदैन ।

राज्यको विभेद
वर्षेनी जस्तो विपदले सताईरहने सुदुर पूर्वका च्याङथापु, फलैचा, ओयाम जस्ता बस्तीहरुलाई राज्यले समेत विभेद गरेको पाईन्छ । वि.स. २०७८ सालमा सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपद संकग्रस्त क्षेत्र घोषणा गरेको थियो । यसमध्ये पाँचथरका चार ओटा स्थानीय तहहरु परेका थिए । विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को व्यवस्था अनुसार विपद संकटग्रस्त क्षेत्र घोषणा घोषणा गरिएका स्थानीय तहहश्र तुम्बेवा, मिक्लाजुङ, फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका रहेका थिए । जबकी अघिल्लो र सोही सालमा समेत बाढि पहिरोले थिलथिलो भएको याङवरक गाउँपालिका त्यसमा समावेश गरिएन ।
प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार ११ : १३ बजे







प्रतिक्रिया