पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२४- वैशाख, पाँचथर। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

परिषद्को बिहीबारको बैठकले रोलक्रमको चौथो क्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । अब संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर कनिष्टलाई प्रधानन्यायधीश सिफारिस गरिएको यो पहिलो घटना हो ।

२०२७ असार ४ गते पर्सामा जन्मिएका शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले पारित गरेमा ६५ वर्षे उमेरहदको व्यवस्था अनुसार उनले पूरा ६ वर्षे कार्यकाल जिम्मेवारी सम्हाल्ने छन्। प्रजातन्त्रको पुनर्स्थापनापछि कुनैपनि प्रधानन्यायधीले पूरा कार्यकाल काम गर्ने इतिहाँस बनाउने अवसर पनि प्रस्तावित प्रधानन्यायधीश शर्मालाई हुनेछ ।

नेपाल ल क्याम्पसमा कानुनमा स्नातक र भारतको पुने विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गरेका उनले श्रम कानूनसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ८ : ०५ बजे