पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१७ वैशाख, पाँचथर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरदोबाटोमा निर्माण गरिएको यलम्बरको प्रतिमा (सालिक) अनावरण कार्यक्रम स्थानीय प्रशासनले रोक लगाएको छ । सालिक अनावरण कार्यक्रम गर्न दुई पक्षबीच विवाद वढेपछि सुरक्षाको चुनौती देखाउँदै जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो ।

११० फिट अग्लो यलम्बरको प्रतिमा अनावरण गर्न दुई पक्षले फरक–फरक मिति र समयमा कार्यक्रमको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले सूचना जारी गर्दै कार्यक्रम स्थगन गर्न सूचित गरेको छ । शान्ति सुरक्षा, सामाजिक सदभाव र एकतालाई मध्यनजर राख्दै कार्यक्रम स्थगन गर्न सूचित गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना उल्लेख गरिएको छ । सालिक अनावरण गर्ने कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैशाख १७ गते र वडा कार्यालय बुइपाले वैशाख १८ गते तयार गरेका थिए।

सालिक उद्घाटनको विषयमा विभाजित दुवै पक्षबीचमा दंगा हुने सम्भावनालाई मध्यनजर गर्दै सालिक अनावरण कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन् । शान्ति सुरक्षा, सामाजिक सद्भाव एवं एकतालाई मध्यनजर गर्दै दुवै कार्यक्रम स्थगन गर्न/गराउन सूचित गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

नगरपालिकाले कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो मार्फत सालिक उद्घाटन गर्ने तयारी गरेको थियो । यसै गरी, वडाध्यक्ष दिनेश राई पक्षले भने श्रम स‌स्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई प्रमुख अतिथि बनाएर यलम्बरको सालिक उद्घाटन गर्ने तयारीमा छन् ।

यो यलम्बरको सालिक मध्ये सबैभन्दा अग्लो र ठूलो रहेको स्थानीयले बताए । पार्क सहितको सालिक निर्माण गर्न ११ करोड ५८ लाख खर्च भएकाे नगरपालिकाले जनाको छ । यसमध्ये कोशी प्रदेशको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी रहेको छ ।

यस अघि २०८२ जेठ १८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीको प्रमुख आतिथ्यतामा यलम्बर पार्क उद्घाटन गर्ने तयारी गरिएको थियो । तर कोशी प्रदेशको नामांकन आन्दोलनरत पक्षले विरोध जनाएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  १ : १७ बजे