मंगल बेघा
२३-फागुन, पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ अन्तर्गत तीन स्थानीय तहको मतगणना सम्पन्न हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्मा र नेपाली काँग्रेसका नरेन्द्रकुमार केरुङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
मिक्लाजुङ, तुम्बेवा र फालेलुङ गाउँपालिकाको मतगणना सकिदा श्रम संस्कृति पार्टीका शेर्माले ५ हजार ५ सय ६४ मत सहित अग्रता कायमै राखेका छन् । उनलाई नेपाली काँग्रेसका केरुङले ५ हजार ४ सय ९६ मत सहित पछ्याईरहेका छन् । यी दुई उम्मेदवारबीच ५८ मतको मतान्तर देखिएको छ ।
यसै गरी, नेकपाका उम्मेदवार हर्कबहादुर नेम्बाङ (मिक्सा) ले ४ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अईन्द्रसुन्दर नेम्बाङले ३ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् । राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुव्वाले १ हजार १ सय ९४, रास्वपाका महेन्द्र विक्रम थाम्सुहाङले ७ सय ३२ र राप्रपाका तेजकुमार कुरुम्बाङले २ सय ५० मत प्राप्त गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले ७५, राष्ट्रिय मुक्ती पार्टीका मित्र लिङदेनले ५५ र जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले ५३ मत प्राप्त गरेका छन् । यसै गरी, नेपाल जनमुक्ती पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ४१, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले ३३ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विजय नेम्बाङले ३० मत प्राप्त गरेका छन् । प्राप्त मत परिणाम अनुसार मंगोल नेस्नल अर्गनाईजेसका रामकुमार तुम्रोकले १९ र नेपाल मजदुर किसान पार्टीका लक्षुमत तामाङले १३ मत प्राप्त गरेका छन् ।
अहिले याङवरक गाउँपालिकाको मत गणना कार्य भईरहेको छ भने यसपछि हिलिहाङ, कुम्मायक, फाल्गुनन्द र फिदिम नगरपालिकाको मग गणना हुन बाँकी रहेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा विहिबार सम्पन्न निर्वाचनमा ४९.६३ प्रतिशत मतदान भएको थियो । कुल १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ६ सय १५ महिला र ३७ हजार ५ सय ५५ पुरुष सहित ७१ हजार १ सय ७१ जनाले मतदान गरेका थिए । निर्वाचन सम्पन्न गर्न १ सय २ मतदान स्थल र १ सय ७९ मतदान केन्द्र स्थापना गरिएका थिए ।
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ११ : २३ बजे







प्रतिक्रिया