दिपक दुलाल
नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२ इम्बुङमा स्वस्थ जीवनशैली सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखाको आर्थिकवर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
मानिसका आहारविहार, दिनाचर्या, ऋतुचर्या, रात्रीचर्या तथा सम्पूर्ण जीवनशैलीमा सकारात्मक परिवर्तन गरी नसर्ने रोगहरुको न्यूनिकरण गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा मानिसको जीवनशैली व्यवस्थापन, तनाव व्यवस्थापन, स्वस्थ आचरणको पालन, स्थानीय जडिबुटीको परिचय तथा प्रयोग, प्रमुख नसर्ने रोगहरु तथा यसका जोखिम तत्वहरु लगायतका विषयमा छलफल तथा प्रयोगात्मक योग अभ्यास गरिएको थियो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविकाहरु, आमा समुहका प्रतिनिधीहरु, जन निर्वाचित प्रतिनिधीहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक, वडाका कर्मचारी, कृषक समुहका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी लगायत ३१ जनाको सहभागिता रहेको थियो ।
फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा प्रमुख बरिष्ठ कविराज निरीक्षक राजु पराजुली र योगगुरु एल बि नेम्वाङले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । फाल्गुनन्द गाउँपालिकाको आर्थिकवर्ष २०८२/०८३ को २ लाख ५० हजार रुपैयाँको कार्यक्रम अन्तर्गत सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिने फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखाले जनाएको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार ४ : २६ बजे






प्रतिक्रिया