मुम्बई (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको छ।
पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँग आज नेपाल १० विकेटले पराजित भएको छ। पहिलो खेलमा इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको नेपाल टोलीले आज समर्थकलाई निराश बनाएको छ।
यो हारले नेपालको सुपर एटको सम्भावना कमजोर बनाएको छ।

१ सय २४ रनको लक्ष्य इटालीले १२.४ ओभरमा विना विकेटको नोक्सानीमा जित निकालेको हो। मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले शतकीय साझेदारी गर्दै नेपाललाई हराएका छन्।
एन्थोनी ३२ बलमा ६२ र जस्टिनले ४४ बलमा ६० रनमा नटआउट रहे। नेपाली टोलीले पहिलो पटक विश्वकप खेलेको इटालीसँग पूरा २० ओभर ब्याटिङ गर्न सकेन ।
नेपाल १९.३ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट भएको छ।
मुम्बईको वानखेडे स्टेडियममा त्यसअघि इटालीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको नेपाली टोली सुरुबाट नै धर्मरायो।

४० रनमाथिको मात्र दुई वटा साझेदारी बन्न सक्यो ।
आरिफ शेखको २७ रन नै नेपाली खेलाडीको सर्वाधिक रन रह्यो। उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट भए। करण केसी १८ रनमा अविजित रहे।
१८ बलमा १७ रन बनाएका दिपेन्द्र सिंह ऐरी क्रिसन कालुगामागेको बलमा बोल्ड आउट भए। २० बलमा २ चौका सहयोगमा २० रन बनाएका ओपनर आशिफ शेख ७.२ ओभरमा वाट मानेन्तीको बलमा विकेटकिपरबाट आउट भए।

सातौँ ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल २३ रनमा क्याच आउट भए। १४ बलमा २ छक्का प्रहार गरेका कप्तान रोहित क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टको हातबाट क्याच आउट नै भए।
दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल ५ रन बनाउँदै आउट भए। १० बलमा एक चौका हानेका कुशल अली हसनको बलमा जस्टीन मोस्काको हातबाट क्याच आउट हुन पुगे। सन्दीप लामिछाने ५ ,लोकेश बम र गुलशन झा समान ३ रन बनाए। नन्दन यादव र ललित राजवंशी शुन्य रनमा रनआउट भए।
हाम्राे खेलकुदवाट
प्रकाशित मिति : ३० माघ २०८२, बिहिबार ८ : ०४ बजे






प्रतिक्रिया