दिपक दुलाल
२८–माघ, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका अन्तरगतका माध्यमिक विद्यालयहरुबीच वक्तृत्वकला प्रतियोगिता कार्यक्रम फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बुङमा बुधबार सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन फाल्गुनन्द गाउँपालिकाको आयोजनामा विद्यार्थीहरुमा ‘सामाजिक सञ्जालको प्रयोग र प्रभाव’ विषयमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । फाल्गुनन्द गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयका कक्षा ९—१२ का १६ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा छात्रतर्फ सिद्धेश्वरी मावि सुर्केनागीका निश्चल दुलाल प्रथम, सिद्धदेवी मावि नवमीडाँडाका सुजन चापागाईँ द्धितीय र जनकल्याण मावि फाक्तेपका इसाद पोर्तेलले तृतीय स्थान प्राप्त गरेका छन् । यस्तै छात्रातर्फ सिद्धेश्वरी मावि सुर्केनागीकै रेखादेवी चापागाईँ प्रथम, जनकल्याण मावि फाक्तेपकी कृति चेम्जोङ द्धितीय र घुर्विसे पञ्चमी माविकी बिनिता लिम्बूले तृतीय स्थान प्रप्त गरेका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य तथा पाँचथर–तेह्रथुम इन्चार्ज माक्सेमप्रसाद नेम्वाङ, विशेष अतिथि फाल्गुनन्द गाउँपालिका शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख मेदनी प्रसाँई, नेपाल राष्ट्रिय शिक्षक संगठन मिक्लाजुङ गाउँपालिका अध्यक्ष भक्त थेगिम लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई क्रमशः २ हजार ५ सय, १ हजार ५ सय र १ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र साथै सहभागी सम्पूर्ण विद्यालयका विद्यार्थीहरुलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
फाल्गुनन्द गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सन्तोषकुमार नेम्वाङ, नेपाल शिक्षक संघ फाल्गुनन्दका अध्यक्ष चन्द्रध्वज नेम्वाङ, सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बुङका व्यवस्थापन समिति अध्यक्ष जितबहादुर नेम्वाङ, जयनारायण आदर्श मावि मेहेलबोटेका प्रधानाध्यापक प्रकाश आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन फाल्गुनन्द गाउँपालिका अध्यक्ष भिमबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा छात्रतर्फ प्रथम र छात्रातर्फ प्रथम हुने विद्यार्थीहरुलाई जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी गराइने नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ । पाँचथर जिल्लाका सबै स्थानीय तहमा उक्त कार्यक्रम सञ्चालन गरी सबै पालिकाबाट उत्कृष्ट एक छात्र र एक छात्रा छनौट गरी प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम फिदिममा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रकाशित मिति : ३० माघ २०८२, बिहिबार २ : ५७ बजे






प्रतिक्रिया