दिपक दुलाल
मंसिर–७, पाँचथर । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम पाँचथरको सदरमुकाम फिदिममा आईतबार सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पाँचथर जिल्लाका सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यालयमा शैक्षिक गाुणस्तर अभिवृद्धिका लागि आ–आफ्ना विद्यालयले गरेका राम्रा अभ्यासहरु, समस्याहरु र समस्या समाधानमा विद्यालयले गरेका प्रयासहरु लगायतका विषयमा प्रधानाध्यापकहरुबीच अन्तरक्रिया तथा छलफल गरिएको थियो ।
अन्तरक्रियामा प्रधानाध्यापकहरुले आ–आफ्ना विद्यालयले गरेका राम्रा अभ्यासहरु, शिक्षण सिकाइमा देखिएका समस्याहरु तथा समस्या समाधानका लागि गरिएका प्रयासहरुका बारेमा आ–आफ्नो प्रस्तुती राखेका थिए । जिल्लाका विभिन्न माध्यमिक विद्यालयहरुले गरेका असल अभ्यासहरुलाई अन्य विद्यालयहरुले पनि अनुशरण गर्नु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, नेपाल शिक्षक महासंघ पाँचथरका अध्यक्ष नरेन्द्रकुमार सम्बाहाम्फे, नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथरका अध्यक्ष खगेन्द्र सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश लेखा समिति अध्यक्ष बालकृष्ण लुइँटेल, हिलिहाङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवप्रसाद तिम्सिना लगायतले मन्तव्य राख्नु भएको थियो ।

जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा पाँचथर जिल्लाका सबै पालिकाका शिक्षा शाखा प्रमुखहरु, जिल्लाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेको प्रमुख आतिथ्यता र शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख देवीप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मिति : ९ मंसिर २०८२, सोमबार १० : ५४ बजे







प्रतिक्रिया