दिपक दुलाल
२२– कात्र्तिक, पाँचथर । फाल्गुनन्द गाउँपालिका– २, इम्बूङमा सम्पन्न खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवले हात पारेको छ । ऐतिहासिक बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत शनिबार भएको फाईनल खेलमा दुवै विधामा जित दर्ता गर्दै आयोजकले उपाधि कब्जा गरेको हो ।
फाल्गुनन्द गाउँपालिका– २ इम्बूङ स्थित सत्यहाङ्मा माविको खेलमैदानमा सम्पन्न पुरुष तर्फको फाइनल खेलमा तिजोक यूवा क्लव, नवमीडाँडालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । निर्धारित समय र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको नतिजा निकालिएको थियो ।

प्रतियोगितामा विजेता बनेको आयोजक टु स्टारले नगद १ लाख १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपविजेता बनेको तिजोक यूवा क्लवले ७० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाएको छ ।
यसै गरी, शनिवार नै सम्पन्न महिला तर्फको फाईनलमा फेमेसुवा क्लव, नवमीडाँडालाई पराजित गर्दै आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवले उपाधि हात पारेको छ । निर्धारित समयमा दुवै टिमवाट कुनै गोल हुन नसकेपछि टाइब्रेकरमा फेमेसुवालाई पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
महिला तर्फको विजेता आयोजकले १५ हजार र उपविजेता बनेको फेमेसुवाले ८ हजार नगद सहित ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको दुवै विधाका विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे सहितका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।
कात्र्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलासँगै स्थानीय टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा कात्र्तिक १७ गतेदेखि सञ्चालन भएको खुल्ला पुरुष फुटबल प्रतियोगितामा ८ टिम र महिला फुटबल प्रतियोगितामा ४ टिमको सहभागिता रहेको आयोजक टु स्टारका अध्यक्ष अर्जुन नेम्वाङले बताए ।
प्रकाशित मिति : २४ कार्तिक २०८२, आइतबार १२ : २८ बजे







प्रतिक्रिया