प्रतियोगिताको बिजेता टिमले १ लाख १ सय ७३ रुपैँया र उपबिजेता टिमले ५१ हजार १ सय ७३ रुपैँया सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने
मंगल बेघा
१० कार्तिक, पाँचथर । ८ औं तरुण गोल्डकप– २०८२ जिल्ला स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता आजदेखि जिल्ला सदरमुकाम फिदिममा सुरु हुने भएको छ ।
नेपाल तरुण दलकाे ७३ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति पाँचथरद्धारा आयोजित प्रतियोगितामा जिल्लाका ८ ओटै स्थानीय तहले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताकाे उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री एवं संविधानसभा सदस्य भिष्मराज आङ्देम्बेले गर्ने छन् ।
फिदिम स्थित फिदिम माविको मैदानमा दिनको १२ बजेदेखि सञ्चालन हुने उद्घाटन खेलमा फालेलुङ गाँउपालिकासँग कुम्मायक गाँउपालिले प्रतिस्पर्धा गर्नेछ । यसै गरी, आज नै हुने दाेस्राे क्वाटर फाइनलमा याङवरक गाँउपालिका र फाल्गुनन्द गाँउपालिका आमने सामने हुनेछन् ।
मंगलबार हुने तेस्राे क्वाटर फाइनलमा हिलिहाङ गाँउपालिकाले तुम्बेवा गाँउपालिकाको सामना गर्नेछ । यसै गरी, साेही दिन हुने अन्तिम क्वाटर फाइनलमा फिदिम नगरपालिकाले मिक्लाजुङ गाँउपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियाेगिताकाे सेमी फाइनलका दुई खेलहरु बुधबार हुनेछन् भने फाइनल बिहिबार सञ्चालन गरिने तरुण दल जिल्ला अध्यक्ष सुमन लामाले बताए । प्रतियोगिताको बिजेता टिमले १ लाख १ सय ७३ रुपैँया र उपबिजेता टिमले ५१ हजार १ सय ७३ रुपैँया सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए ।
प्रकाशित मिति : ११ कार्तिक २०८२, सोमबार ११ : २८ बजे







प्रतिक्रिया