पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर — मृत्यू भएका मान्छे राखिएकै रात चिहान खोतलिएपछि इलामको रोङका नागरिकमा त्रास छाएको छ । जिल्लाको रोङ गाउँपालिका २ लामकटेरीमा बिहीबार राति स्थानीय राम राईको शव खोतलिएको हो ।

वडाध्यक्ष चन्द्रशेखर घिमिरेका अनुसार त्यहाँका बालकुमार राईका २२ वर्षीय छोरा राम राईको बिहीबार निधन भएपछि किराँत संस्कृति अनुसार नजिकैको जग्गामा चिहान खनेर शव गाडिएको थियो ।

करिब ६ फिट गहिरो खाल्डोमा शव व्यवस्थापन गर्न लगाइएका ढुङ्गा र माटो झिकेर खाल्डो खोलिएको अवस्थामा भेटिएपछि स्थानीयमा त्रास छाएको हो ।

शवमाथि राखिएको ढुङ्गा माटो खोतलेर वरिपरि राखिएको अवस्थामा भेटिएको स्थानीय शर्ण राइले बताए । ‘ राईका अनुसार बिहान पिण्ड दिन चिहानमा पुग्दा, शव माथिको ढुङ्गा माटो झिकेर खाल्डो बनाइएको देख्यौं, यस्तो देख्चा अचम्मसँगै डर पनि लाग्यो,’ उनले भने ।

रोङमा मान्छे गाडेकै रात यसरी चिहान खोतलिएको यो नै पहिलो भएको स्थानीय बताउँछन् । अघिल्लो दिन मान्छे गाडेको चिहान भोलिपल्ट खोतलेको अवस्थामा भेटिएपछि भेला भएका स्थानीय, जनप्रतिनिधि र प्रहरीले मुचुल्का खडा गरेका थिए ।

ढुङ्गा माटो सबै झिके पनि बाकस भित्रको शव भने जस्ताको तस्तै भेटिएको वडाध्यक्ष घिमिरेले बताए । स्थानीय शैलेस घिमिरेका अनुसार अघिल्लो दिन मृत्यू भएका २२ वर्षीय राईमा अपाङ्गता थियो । खोतलिएको चिहानको खाल्डो शुक्रबार पुनः पुरिएको थियो ।

यो घट्ना रोङमै पहिलो र रहस्यमय भएकाले अनुसन्धान गर्नुपर्ने माग स्थानीयको छ ।

इकान्तिपुरवाट

प्रकाशित मिति : २ कार्तिक २०८२, शनिबार  १ : ४८ बजे