मंगल बेघा
१४ असोज, पाँचथर । वेष्टइण्डिजमाथि दोस्रो जित दर्ता गर्दै नेपालले युनिटि कपको उपाधि कब्जा गरेको छ । युएइको शारजाह क्रिकेट रंगशालामा सोमबार राती भएको टि- २० आई सिरिजको दोस्रो खेलमा टेष्ट मान्यता प्राप्त दुई पटकको विश्वविजेता वेष्टइण्डिज माथि ९० रनको जित दर्ता गर्दै नेपालले उपाधि कब्जा गरेको हो ।
१७४ रनको विजयी लक्ष्य पछ्याएको वेष्टइण्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भएको थियो । वेष्टइण्डिजका कप्तान जेसन होल्डरले २१ रन बनाउनु बाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन् । ओपनर जेवल एन्ड्रयु २, कायल मेयर्स ६, केसी कार्टी १, एकिम अगष्ट १७, अमिर जांगो १६, फाबियन एलेन ७, नविन विदाइसी २, जिसान मोराटा ३, र अकील होसेन ० रनमा आउट भए भने जेडिह ब्याडेश १ रनमा नटआउट रहे ।

नेपालका अदिल अन्सारीले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने कुशल भुर्तेलले २.१ ओभरमा १६ रन खर्चेर ३ लिए । यसै गरी, ललीतनारायण राजबंशी, दिपेन्द्रसिंह ऐरी र करण केसीले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे । सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको बनाए ।

नेपालका ओपनर कुशल भुर्तेल २, कप्तान रोहित ३, कुशल मल्ल ७, गुल्शन झा ६ र आदिल अन्सारीले ११ रनको योगदान दिए । वेष्टइण्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए । यसै गरी, जेडिह ब्याडेशले १ विकेट लिए ।
युनिटी कप अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले वेष्टइण्डिज विरुद्ध १९ रनको जित निकालेको थियो । यो सिरिजको अन्तिम खेल मंगलबार साँझ हुनेछ । यस खेलमा नेपाललाई क्लिन स्विप गर्ने र वेष्टइण्डिलाई सान्तवना जित दर्ता गर्ने असर हुनेछ ।
तस्विर:- क्यानकाे फेसबुक पेज
प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार ९ : ३६ बजे
प्रतिक्रिया