२९-भदौ, पाँचथर। सरकारले जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्नुका साथै पीडितका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने भएको छ ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले साेमबार पदभार ग्रहण गरे सँगै जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरुलाई शहीद घोषणा र राहत प्रदान गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् । यस अघि नै आन्दाेलनका क्रममा घाइते भएकाहरुकाे नेपाल सरकारले निशूल्क उपचार गर्ने निर्णय गरेकाे थियाे ।
जेनजी आन्दोलनमा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी ३ गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव एकनारायण अर्यालले बताए । यसै गरी, १ सय ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएकाे समेत उनले जानकारी दिए ।
जेनजीले गत साेमबार र मंगलबार गरेकाे आन्दाेलनवाट केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त गरी पूर्वप्रधान न्यायधीश कार्की अन्तरिम सरकारका प्रधानमन्त्री चयन भएकी हुन् । जेनजीको माग अनुसार नयाँ सरकार गठन भएसँगै प्रतिनिधि सभा समेत विगठन गरिएको छ भने आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिएको छ ।
आन्दोलनका क्रममा संघीय राज्यका तीन ओटै अंगहरु संसद, सिंहदरबार र सर्वोच्च अदालत सहित सैयौ सरकारी कार्यालय, नेताका घर, व्यावसायिक प्रतिष्ठानमा आगजानी भएको थियो ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार २ : ५० बजे
प्रतिक्रिया