२४- साउन, पाँचथर । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्राे ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियाेगिता-२०८२ काे उद्घाटन खेलमा आज आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ र सुनसरी इटहरीको द योङ ब्रदर्स क्लब भिड्दैछन् ।
फुङलिङ स्थित भानुजन माविकाे खेल मैदानमा हुने खेलमा आयोजकको तर्फबाट सहभागिता जनाउने तेल्लोकले दुई विदेशी खेलाडी फोफोना र स्यामुइललाई भित्र्याएको छ भने जीवन गुरुङ, सञ्जय श्रेष्ठ, रुपेश केसी लगायत छ जनालाई अनुबन्ध गरेको छ । उनीहरू विभिन्न क्लबबाट खेलिरहेका छन् भने बाँकी खेलाडी जिल्लाका हुनेछन् । ब्रदर्स क्लबबाट थ्रिस्टारका प्रवेश बस्नेत, पुलिस क्लबका शिशिर चौधरी, इटहरीका रमेश राजवंशी, योगेन कार्की, सञ्जय धिमाल, युवराज थापा, निशान थापा मगर लगायतले खेल्नेछन् ।
प्रतियोगितामा लेजण्ड फुटबल एकेडेमी सिलीगुढि भारत, चर्च व्वाईज क्लब काठमाडौँ, सहारा क्लब पोखरा, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्श क्लब सुनसरी, सलहेस युवा क्लब सिराहा, फिदिम स्पोर्टिङ क्लब पाँचथर र तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ सहभागी हुने समितिका अध्यक्ष सागर मादेनले बताए। यस वर्षको प्रतियोगितामा गत वर्षको उपविजेता सलहेश बाहेक सबै नयाँ टिम मैदानमा उत्रँदैछन् ।
प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ । यस वर्ष पुरस्कार राशी वृद्धि गरिएको छ । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतलााई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वाेत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र नव उदयमान खेलाडीलाई जनही १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ । यसै गरी, हरेक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई समेत नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ ।
क्वाटर फाइनलसम्मको खेलका लागि टिकट दर एक सय, सेमिफाइनलमा दुई सय र फाइनलका लागि दुई सय ५० रुपैयाँ राखिएको छ । १० वर्षमुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क मैदान प्रवेश गराइने आयोजकले बताएका छन् । खेलाडी र रेफ्रीको एक लाखका दरले बिमा गरिएको छ । श्याम दनुवारको नेतृत्वमा आठ जनाको रेफ्री टोली प्रतियोगिता गराउन मैदानमा उत्रने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा ६४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । फाइनल खेल साउन ३१ गते हुनेछ ।
प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार १० : ३६ बजे
प्रतिक्रिया