पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

१८–साउन, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडा र फिदिम नगरपालिका वडा नं. ६, सिवाको संगम स्थलमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल तिजोक क्षेत्रमा यतिबेला आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै गएको छ ।

प्रकृतिक रुपमा सुन्दर तिजोक डाँडामा तिजोक पर्यटन प्रवद्र्धन विकास क्षेत्रद्धारा तिजोक पर्यटन पूर्वाधार निर्माण अभियान अन्तर्गत निर्माण भइरहेका पर्यटनमैंत्री विभिन्न भौतिक संरचनाहरु मनोरञ्जनका साधनहरु तथा बहुसांस्कृतिक पार्क लगायतले आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै गएको हो ।

फाल्गुनन्द गाउँपालिका वडा नं. १ र फिदिम नगरपालिका वडा नं. ६ का स्थानीय यूवाहरुको सक्रियता र देशविदेशमा रहनुभएका सहयोगी दाताहरुको सहयोग तथा स्थानीयबासीहरुको जनश्रमदानबाट हालसम्ममा धेरै पर्यटनमैंत्री विभिन्न भौतिक संरचनाहरु निर्माण भइसकेको तिजोक पर्यटन प्रवद्र्धन विकास क्षेत्रका अध्यक्ष राज दिलाञ्जलीले बताए । ‘‘अहिले सम्म हाम्रो निर्माणको कार्य निकै अगाडि बढिसकेको छ”– उनले भने– ‘‘यो पर्यटन क्षेत्रमा हालसम्ममा हामीले ट्रस कर्टेज, खुर्पेटोको स्ट्याचु, डम्फुको स्ट्याचु, लव सिम्बल, सिलाम साक्मा, च्याबु्रुङको स्ट्याचु, लव सिट, झुला पिङ, अर्गानिक खरका छानो भएका कटेज, ट्रि–हाउस लगायतका मनोरञ्जनका सामग्रीहरु, प्रवेशद्धारहरु र दुइ दर्जन फलामे बेन्चहरु निर्माण गरिसकेका छौँ ।” तिजोकलाई थप आकर्षक बनाउनका लागि विभिन्न क्षेत्रहरुमा पहल गरिरहेको र आगामी दिनमा तिजोकडाँडामा रोटेपिङ, गुलेली पिङ लगागतका मनोरञ्जनका साधनहरु थपिने उहाँले बताउनुभयो ।

तिजोक क्षेत्रमा फ्रि वाइफाइ जोन बनाउनको लागि काम गरिरहेको, बनेका संरचनाहरुको सुरक्षा र निगरानीको लागि सिसि क्यामेराको व्यवस्था, फाउन्टेन सहितको पोखरी निर्माण, आकर्षक बाह्रमासे फूलहरुको बगैंचा बनाउने लगायतका कामहरु समेत सञ्चालन भइरहेको उहाँको भनाइ छ । तिजोकमा हाल देखिएको मूख्य समस्या खानेपानी र शौचालयको अभाव भएकोले निकट भविष्यमै उक्त समस्यालाई समाधान गर्ने गरी कामलाई तिव्रता दिइएको बताइएको छ ।

फिदिम ६ सिवा र फाल्गुनन्द १ र २ को संगमस्थल पात्लेभन्ज्याङ बजारबाट, फाल्गुनन्द १ को नवमीडाँडा बजार नजिकैको आहाले भन्ज्याङबाट र सुर्केनागीको मिलडाँडाबाट गरी ३ स्थानबाट तिजोकडाँडामा मोटरबाटोबाट समेत पुग्न सकिन्छ । प्रकृतिक रुपले सुन्दर अनि रमणिय स्थल तिजोकडाँडामा प्रत्येक दिन र बिशेष गरी शनिबार तथा सार्वजानिक बिदाको दिन विभिन्न स्थानबाट उल्लेख्य संख्यामा पर्यटकहरु घुमफिर तथा मनोरञ्जनका लागि पुग्ने गरेका छन् । फिदिम मुस्कानचोकबाट तिजोक घुम्न पुगेका राम घले र सुबी सुनुवारले तिजोक घुम्न पाउँदा अत्यन्तै रमाइलो र खुशी लागेको बताए । यस्तै बनेका भौतिक संरचनाहरुले तिजोक अत्यन्त रमणीय भएको तिजोक घुम्न पुगेकी स्थानीय देवीमाया लुइँटेलले बताइन् ।

समुद्र सतहबाट २ हजार १ सय ४३ मिटरको उचाइमा रहेको प्राकृतिक र भौगोलिक रुपमा सुन्दर पर्यटकीय तथा ऐतिहासिक स्थल तिजोक डाँडाबाट पूर्वी नेपालका विभिन्न ठाउँहरु तथा हिमश्रृङ्खलाहरुको दृष्यावलोकन गर्न सकिन्छ । पर्यटनको सम्भावना बोकेका मादल बज्ने ढुङ्गा, गुफाभित्र रहेको गाइको थुन, रमणीय चौर लगायतले तिजोकलाई थप आकर्षक बनाएका छन् ।

विगत वर्षहरुदेखि नै तिजोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि स्थानीय सरकार तथा वडाकार्यालयबाट सिँढी निर्माण लगायतका कामहरु सञ्चालन गरिएको फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेले बताए । हाल विभिन्न ठाउँबाट आर्थिक स्रोत जुटाएर तिजोक क्षेत्रको विकासको लागि स्थानिय युवाहरुको सक्रियतालाई वडाध्यक्ष आङदेम्बेले प्रशंसा गर्नुभयो । ‘‘तिजोक क्षेत्रको विकासको लागि देशविदेशमा रहेर आर्थिक सहयोग गर्नुहुने, श्रमदानमा जुट्नुहुने तथा तिजोक पर्यटन प्रवद्र्धन विकास क्षेत्र समितिमा रहेर काम गर्नुहुने सम्पूर्ण युुवा साथीहरुलाई हार्दिक धन्यावाद दिन चाहन्छु ।’’ उनले भने । आफू २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि नै तिजोकलाई पर्यटकिय क्षेत्र बनाउने आफ्नो योजना भएको वडाध्यक्ष आङ्देम्बेको बताए ।

स्थानीयको धार्मिक आस्था तथा प्रकृतिक रुपले रमणीय ऐतिहासिक स्थल तिजोक क्षेत्रको विकासका लागि स्थानीय यूवाहरुको प्रयास प्रशंसनीय रहेको छ । सबैको साथ र सहयोगमा यो क्षेत्र चाँडै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको छ ।

तस्विर :- दिपक दुलाल/राज दिलाञ्जली

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : ११ बजे