पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१८-साउन, पाँचथर । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतीय प्रतिस्पर्धी चुनरेङ कोरेनलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।

शनिबार राति भारतमा सम्पन्न एमएफएन १७ को प्रतिस्पर्धामा ढाँटले तेस्रो राउन्डमै टीकेओ (टेक्निकल नकआउट) द्वारा कोरेनलाई पराजित गरे। आक्रामक प्रहारपछि कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै ढाँटलाई विजेता घोषित गरेका हुन्।

यो जितसँगै रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्। साथै, उनको प्रोफेसनल रेकर्ड ८–१ मा पुगेको छ। उनले भारतीय च्याम्पियन कोरेनको पाँच खेल लामो अपराजित यात्रामा पूर्णविराम लगाएका छन्।

‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले खेलको सुरुआतमा दबाब सिर्जना गर्न खोजेपनि, ढाँटले संयमित रणनीति र प्रभावशाली रेस्लिङमार्फत नियन्त्रण कायम राखे।

बझाङको बित्थडचिर गाउँपालिकाका ढाँटको जितपछि रंगशालामा उत्साह चुलिएको थियो। उनी पिजरमाथि नेपाली झन्डा फहराउँदै गर्वसाथ उभिएका थिए।

उनको जितप्रति सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली सहित नेता, खेलाडी, कलाकार लगायतले सामाजिक सञ्जालमार्फत ढाँटलाई बधाई दिएका छन्।

तस्विर : सामाजिक सञ्जाल

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ५८ बजे