युधिष्ठिर राज आमगाई
१३ साउन, फिदिम । नेस्नल लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकले गणेशमान सिंह सामुदायिक हस्पिटलमा छुट पाउने भएका छन् । लघुवित्त र अस्पतालबीच आइतबार भएको सम्झौता अनुसार लघुवित्तका ग्राहकलाई सामुदायिक अस्पतालले स्वास्थ्य उपचार सेवा र औषधी खरिदमा छुट दिने भएको हो ।
सामुदायिक अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठ र वित्तीय संस्थाका अनुगमन अधिकृत पृथ सिंह खत्रीले हस्ताक्षर गरेको सम्झौता पत्रमा संस्थाका ग्राहकले ५ देखि २० प्रतिशतसम्म छुट पाउने उल्लेख गरिएको छ । दुरदराजमा रहेका नागरिकको पहुँचमा सुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सरोकारवाला निकायहरुसँग समन्वय सहकार्य गर्ने क्रममा लघुवित्त वित्तीय संस्थासँग सम्झौता गरिएको सामुदायिक अस्पतालका अध्यक्ष श्रेष्ठले बताए । आफ्ना ग्राहक समक्ष वित्तीय सेवा मात्र नभएर स्वास्थ्य सेवा समेत सहज रुपमा पु¥याउन अस्पतालसँग सहकार्य गरिएको अनुगमन अधिकृत खत्रीले बताए ।
जिल्ला सदरमुकाम फिदिम वजारमा ४ वर्ष अघिदेखि सञ्चालित सामुदायिक अस्पतालले अन्तरङ्ग तथा बहिरङ्ग सेवा मार्फत नियमित रुपमा फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाड जोर्नी तथा नशा रोगको विशेषज्ञ डाक्टरवाट सेवा प्रवाह गर्दै आएको छ । यसै गरी, शिविर मार्फत मासिक रुपमा नाक, कान, घाँटी तथा थाईराईड र छाला, यौन तथा कुष्टरोग विशेषज्ञ डाक्टरवाट सेवा प्रवाह गर्दै आएको र वित्तीय संस्थाका ग्राहक तथा कर्मचारीले उल्लेखित रोगको उपचार सेवामा छुट पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अस्पतालले छिटो छरितो र गुणस्तरीय स्वास्थ्य सेवा दिनु पर्ने भन्दै प्रचार प्रसार र समन्वय गरी आफ्ना ग्राहकहरुलाई अस्पतालसम्म ल्याउन पहल गरिने अनुगमन अधिकृत खत्रीले बताए । काभ्रेपलाञ्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले ७४ जिल्लामा १ सय ८५ शाखा सञ्चालन गरिरहेको संस्थाका ग्राहक २ लाख ४७ हजार ६ सय २५ जना रहेका छन् भने ऋण लगानी २५ अर्ब र बचत ६ अर्ब ३४ करोड रहेको उनले जानकारी दिए ।
नेस्नल लघुवित्त वित्तीय संस्था लिमिटेडको फिदिम शाखाले पाँचथर जिल्लाका फिदिम नगरपालिका, याङवरक, फालेलुङ र फाल्गुनन्द गाउँपालिका तथा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका गरी ५ स्थानीय तहमा सेवा प्रवाह गरिरहेको शाखा प्रमुख गोपाल आचार्यले बताए । उनका अनुसार पाँचथरमा गठन गरिएका ३ सय ६९ ओटा समूहमा ३ हजार ८ सय ९७ र ताप्लेजुङमा १ सय ३९ ओटा समूहमा ११ सय ३० गरी जम्मा ५ हजार २७ ग्राहक रहेका छन् ।
एक बेला ९४ को संख्यामा पुगेका लघुवित्त वित्तीय संस्थाहरु अहिले मर्ज भएर ५२ को संख्यामा पुगेका छन् । नेस्नल समेत समिट, महिला सहयात्रा र सजिलो गरी चार ओटा वित्तीय संस्थाहरु मर्ज भई सञ्चालनमा रहेको घ वर्गको वित्तीय संस्था हो । आर्थिक रुपमा विपन्न वर्गको जीवन स्तर उठाउन संस्थावाट कृषिजन्य उत्पादन वजारीकरण र वितरणका क्षेत्रमा अधिकतम लगानी गरिएको अनुगमन अधिकृत खत्रीले बताए । उनका अनुसार संस्थाले विभिन्न शिर्षकमा १२ देखि १३.६ प्रतिशतसम्ममा ऋण लगानी गर्दै आएको छ ।
प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार ६ : ५२ बजे
प्रतिक्रिया