पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३१ जेठ, पाँचथर । मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने हेवाँ खोलाको निर्माणाधिन बेलिबृज शनिबार भाँचिदा ६ जना मजदुर घाईते भएका छन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको बखत बेलिबृज भाँचिएर निर्माण कार्यमा संलग्न मजदुरहरु घाईते भएका हुन् । घाइते मजदुरहरुकाे उद्वार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक काैशलकुमार वुढाथाेकीले जानकारी दिए । घाईते मध्ये ४ जनाको अवस्था गंभीर र अन्य २ को अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालले जनाएको छ ।

घटना परी गंभीर घाईते हुनेमा जिल्ला बारा सिमरा उमनपा १२ का २२ वर्षीय रूपलाल चौधरी, पिठ्युँमा चोट लागेका सोही स्थानका २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र दायाँ खुट्टा भाँचिएका २५ वर्षीय भुलेश्वर चौधरी रहेका छन् । रुपलाल र राकेशको बाहिर चोट नदिए पनि तत्काल बोल्न सक्ने अवस्था नरहेको अस्ताल स्रोतले जानकारी दिएको छ ।

यसै गरी, सोही स्थानका ३५ वर्षीय प्रकाश चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट लागे पनि बोलचाल गर्न सक्ने अवस्थामा छन् भने ३० वर्षीय अभिषेक चौधरीको टाउकोमा चोट देखिएको छ । प्रकाश र अभिषेक भने खतरामुक्त रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिए ।

पुल भाँचिएपछि अस्थायी डाईभर्सनवाट यातायातका साधन चल्ने गरी निर्माण गरिएको सडक समेत अवरुद्ध भएको छ । दुई पाङ्ग्रे सवारी साधन चले पनि भाँचिएको पुलले चार पाङ्ग्रे सवारी साधनको आवागमन अवरुद्ध भएको घटना स्थलमा रहेका नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले बताए ।

अघिल्लो वर्ष आएको बाढिले सो स्थानमा रहेको पक्की पुल बगाएपछि गत साल बेलिबृज निर्माण गरिएको थियो । सो पुल समेत गत साल आएको वाढिले बगाएपछि ७० मिटर लामो बेलिबृज निर्माण कार्य अगाडि वढाइएको थियो । निर्माणाधिन पुलमा क्षती भएपछि पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाका बासिन्दालाई यातायात सेवामा समस्या हुने देखिएको छ । यसै गरी, यही सडक प्रयाेग गर्ने ताप्लेजुङका नागरिकले समेत वर्षातको सयमा सास्ती व्यहोर्नु पर्ने अवस्था आउन सक्ने स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८२, शनिबार  ८ : ०५ बजे