मध्य युरोपको अस्ट्रियाको दोस्रो ठूलो सहर ग्राजस्थित बन्डेस-ओबरस्तुफेनरियलजिम्नाजियम ड्रायर्स्युट्जेनगासे माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ। यो अस्ट्रियाको हालसम्मकै सबैभन्दा घातक गोलीकाण्ड मानिएको छ।
अस्ट्रियाले यो घटनालाई ‘राष्ट्रिय त्रासदी’ भन्दै तीन दिनको शोक घोषणा गरेको छ। पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार बिहान १० बजे (स्थानीय समय) देशभर एक मिनेट मौनधारण गरिनेछ।
प्रहरीका अनुसार २१ वर्षीय बन्दुकधारी विद्यालयको पूर्वविद्यार्थी थिए, जसले अन्ततः स्कूलको शौचालयमा आफूलाई गोली हानेर आत्महत्या गरेको थियो। उनले आक्रमणमा पेस्तोल र सटगन प्रयोग गरेको पाइएकाे छ। त्याे उनले वैधानिक रूपमा खरिद गरेका थिए।
मृतकमा सात विद्यार्थी र एक शिक्षक थिए, जसमध्ये छ महिला र तीन पुरुष थिए। एक जना गम्भीर घाइते वयस्क महिलाको मंगलबार साँझ अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो।
गृहमन्त्री गेरहार्ड कर्नरले भने, ‘यो आक्रमणमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ।’ प्रहरीका अनुसार १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले भने, ‘यो विद्यालय अर्को सूचना नआएसम्म बन्द रहनेछ।’
मंगलबार बिहान १० बजे गोली चलेको खबरपछि प्रहरीले तत्काल कारबाही सुरु गरेको थियो। विशेष कोब्रा टोलीसहित तीन सयभन्दा बढी प्रहरी र हेलिकप्टर परिचालन गरिएको थियो। विद्यालय १७ मिनेटभित्र खाली गराइएको थियो। ग्राजका मेयर एल्के कहरले यो घटनालाई ‘भयानक त्रासदी’ भनेकी छन्।
चान्सलर क्रिस्टियन स्टकरले भने, ‘मध्य युरोपको ग्राजस्थित स्कूलमा भएको यो आक्रमणले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ। हाम्रो दुख र शोकलाई शब्दमा व्यक्त गर्न सकिँदैन।’ मंगलबार राति ग्राजका हजारौं बासिन्दाले मुख्य चोकमा मैनबत्ती बालेर पीडितको सम्झनामा श्रद्धाञ्जली अर्पण गरे।
एजेन्सी
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार ११ : ३२ बजे
प्रतिक्रिया