पाँचथर । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्यामा आफ्नै बुहारीको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको छ ।
बुहारीले भाडाका मान्छे प्रयोग गरी वृद्ध अवस्थाका ससुराको हत्या गर्न लगाएको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए । आफ्नै घरको बरन्डामा सुतिरहेका बेला मीनबहादुरको गत शनिबार राति हत्या भएको थियो । घाँटी थिचेर हत्या गरेपछि घटनामा संलग्न फरार भएका थिए ।
हत्यामा संलग्न भएको आरोपमा बुहारी र १२ वर्षीया नातिनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई शुक्रबार सार्वजनिक गरिएको छ । डीएसपी बस्नेतले मीनबहादुरको हत्या आरोपमा ४५ वर्षीया बुहारी, १२ वर्षीया नातिनी र १७ वर्षका २ जना किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार आफ्नै बुहारीले २० हजार रूपैयाँ दिने प्रलोभन देखाएर भाडामा मान्छे खोजेर ससुराको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामध्ये अरु बालक भएकाले बुहारीलाई मात्रै प्रहरीले पत्रकार सम्मेनल गरी सार्वजनिक गरेको थियो ।
मीनबहादुरको हत्यामा संलग्न २ जना किशोर मजदुरी गर्दै आएको पत्ता लागेको छ । उनीहरुलाई २० हजार रूपैयाँको प्रलोभन देखाएर बुहारीले ससुरा मनीबहादुरको हत्या गर्न लगाएको डीएसपी बस्नेत बताउँछन् ।
‘बुहारी र नातिनीले हत्याको योजना बनाएको देखिन्छ । योजना बनाउँदै मीनबहादुरको हत्या गरेमा २० हजार रूपैयाँ दिने प्रलोभन देखाइएको रहेछ । त्यसपछि हत्यामा २ जना किशोर प्रत्यक्ष जोडिएको पाइयो,’ उनले भने । मदिरामा लट्ठ भएको मौका छोपेर मीनबहादुरको हत्या गरिएको उनले बताए ।
‘ससुराको हत्या गर्ने योजना बनाएर वैशाख १३ गते राति २ जनालाई बुहारीले आफ्नो घरमा बोलाएको पाइयो । त्यसपछि चारै जना (बुहारी, नातिनी र २ किशोर)ले मदिरा (जाँड) सेवन गरेछन्,’ डीएसपी बस्नेतले भने, ‘जाँडको नसा लागेपछि बुहारी र नातिनीले २ जनालाई ससुरा बस्ने घर देखाइदिएछन् । बुहारी र नातिनी फर्किएर गएपछि २ जनाले घाँटी थिचेर हत्या गरेको पत्ता लागेको छ ।’
हत्यापछि चारै जना बुहारीकै घरमा गएर सुतेको पाइएको प्रहरीको भनाइ छ । घटना भएको १ सातापछि अभियुक्तलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो । हत्यामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको बस्नेतले बताए ।
प्रहरीका अनुसार मृतक मीनबहादुरले २०५९ असोजमा भाइ नाता पर्ने व्यक्तिको हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी कैद सजाय भुक्तान गरेर छुटेका थिए ।
कारागारबाट छुटेको केही समयमै मीनबहादुरले २०७१ सालमा आफ्नै छोरामाथि खुकुरी प्रहार गरेको खुलेको छ । खुकुरीले हानेर छोरालाई गम्भीर घाइते बनाएका उनी ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भए ।
उक्त मुद्दाको फैसला गर्दै अदालतले २०७२ साल वैशाख ७ गते मीनबहादुरलाई ५ वर्ष कैद सजायको फैसला गरेको थियो । उनी सजाय भुक्तान गरेर छुटेका थिए ।
मीनबहादुरले खुकुरी प्रहार गरेका छोरा हाल वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका छोराकै पत्नी (श्रीमती)को योजनामा मीनबहादुरको हत्या भएको डीएसपी बस्नेतले बताए ।
प्रहरीका अनुसार मृतक मीनबहादुरले विदेशबाट फर्किएपछि छोराको हत्या गर्ने धम्की दिँदै आएको पत्ता लागेको छ । साथै, मीनबहादुरले पत्नी सुनमायाको उपचारका लागि जग्गा बिक्री गर्न खोजेपछि परिवारमा झन् विवाद बढेको पाइएको छ ।
विदेशबाट फर्किएपछि छोराको हत्या गर्ने धम्की बारम्बार दिने गरेको र जग्गासमेत बिक्री गर्ने योजना बनाएपछि विवाद बढेर रिस थाम्न नसक्दा मीनबहादुरको हत्या गरेको बयान उनकै बुहारीले दिएको प्रहरीको भनाइ छ । यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार ९ : १५ बजे
प्रतिक्रिया