पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

४- बैशाख, पाँचथर । फाल्गुनन्द गाउँपालिका– १, नवमीडाँडामा जारी अन्तर जिल्ला आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको फाईनलमा पाँचथर फुटबल क्लव, फिदिम र केलाङ फुटबल क्लव, मोरङ भिड्ने भएका छन् ।

नयाँ वर्षको अवसरमा आयोजित प्रतियोगिताको सेमिफाइनलका खेलहरु जित्दै पाँचथर र केलाङ एफसीले फाइनल खेलको भेट पक्का गरेका हुन् । नवमीडाँडा स्थित सिद्धदेवी माविको खेलमैदानमा बैशाख ६ गते हुने फाइनलमा यी दुई टोलीले उपाधिको छिनोफानो गर्ने छन् ।

सेमिफाइनलमा पाँचथर फुटबल क्लवले पाथीभरा फुटबल क्लव सुनसरी ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । यसै गरी, केलाङ एफसीले फाकफोकथुम युथ क्लव, इलाम विरुद्ध २–१ सघर्षपूर्ण जीत निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगिताको बिजेताले २ लाख ५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पाँचथर सहित झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम लगायतका जिल्लाका ८ टिमको सहभागिता रहेको थियाे ।

खेलकुद प्रतियोगिता सँगै चर्चित राष्ट्रिय कलाकारहरु कमल खत्री, सम्झना योङ्याङ लिम्बू, असल याक्थुङ तुम्रोक सहित स्थानीय कलाकारहरुको साथमा बैशाख ५ गते नवमीडाँडामा सांगीतिक कार्यक्रम सञ्चालन गरिने आयोजक तिजोक युवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिए ।

नयाँ वर्षको अवसर पारेर स्थानीय तिजोक यूवा क्लवले नवमीडाँडामा प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद, सांस्कृतिक कार्यक्रम तथा नयाँ वर्ष मेला यसवर्ष २०८२ साल बैशाख १ गतेबाट सुरु भई बैशाख ६ गते सम्पन्न हुने बताइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ३४ बजे