दिपक दुलाल
२ वैशाख, पाँचथर । फाल्गुनन्द गाउँपालिका– १, नवमीडाँडामा नयाँ वर्षको अवसरमा आयोजित अन्तर जिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगितामा पथरी मोरङले बिजयी सुरुवात गरेको छ ।
नवमीडाँडा स्थित सिद्धदेवी माविको खेलमैदानमा सोमबार भएको उद्घाटन खेलमा आयोजक तिजोक युवा क्लबलाई ४–१ ले पराजित गर्दै केलाङ एफसी सेमिफाईनलमा प्रवेश गरेको हो । केलाङ एफसीले पहिलो हाफमा १ र बाँकी ३ गोल दोस्रो हाफमा गरेको थियो । यसै गरी, आयोजक तिजोकल दोस्रो हाफमा सान्तवना गोल फर्काएको थियो ।
आयोजक विरुद्ध गोल पोजिसन राख्दै केलाङले फराकिलो अन्तरको जित निकाल्न सफल भएको हो । आफ्नै घरेलु खेलमैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा आयोजक तिजोक यूवा क्लव पहिलो चरणको खेलबाटै प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

प्रतियोगिताको बिजेताले २ लाख ५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पाँचथर सहित झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम लगायतका जिल्लाका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिङ नेम्वाङ, फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बे, उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नरेन्द्र अधिकारी लगायतले कार्यक्रम सफलताको शुभकामना दिँदै मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका संस्कृति भल्किने सांस्कृतिक नृत्यहरु केलाङ नाच, लाखे नाच, नौमती बाजा लगायतका झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

नयाँ वर्षकै अवसरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता खेलको समेत उद्घाटन गरिएको छ । जिल्ला ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेज बहादुर तुम्बापो, सचिव मंगल बेघा लगायतको उपस्थितिमा ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरिएको हो ।
बैशाख ६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा अन्तर जिल्ला आमन्त्रित पुरुष फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, विविध संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु, स्थानीय परिकार तथा स्थानीय सामग्रीहरुको प्रदर्शनी लगायतका कार्यक्रमहरु सञ्चालन गरिने तिजोक युवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो ।
यसैगरी चर्चित राष्ट्रिय कलाकारहरु कमल खत्री, सम्झना योङ्याङ लिम्बू, असल याक्थुङ तुम्रोक लगायत स्थानीय कलाकारहरुको साथमा बेजोड सांस्कृतिक कार्यक्रम बैशाख ५ गते सञ्चालन गरिने बताइएको छ । नयाँवर्षको अवसर पारेर स्थानीय तिजोक यूवा क्लवले नवमीडाँडामा प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद, सांस्कृतिक कार्यक्रम तथा नयाँवर्ष मेला यसवर्ष २०८२ साल बैशाख १ गतेबाट शुरु भई बैशाख ६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
तस्विर साैजन्य :- गोल नेपाल डट कम
प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार १२ : ०९ बजे
प्रतिक्रिया