पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२९ फागुन, पाँचथर । फिदिममा जारी अन्तराष्ट्रिय आमन्त्रण वाइवाइ पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा चर्च बोइज युनाईटेड, काठमाण्डौंलाई हराउँदै नमो बुद्ध युथ फुटबल क्लब, सप्तरी फाईनल प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा बुधबार भएको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा लिग लिडर चर्च विरुद्ध पेनाल्टी सुटआउटमा ४–२ को जित दर्ता गर्दै नमो बुद्धले फाईनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ को बराबरी खेलेपछि सोझै पेनाल्टी मार्फत खेलको निर्णय लिइएको थियो ।

पेनाल्टी सुटआउटमा नमो बुद्धका विवेक गुरुङ, आयुश मगर, अनिल मगर र विवेक राईले गोल गरे । यसै गरी, चर्च बोइजका विदेशी खेलाडीद्धय तल्ला र फोफोनाले गोल गर्दा अभिशेक महतो र सागर तिरुवाको प्रहारलाई नमो बुद्धका गोलरक्षक जयरथ शेखले बचाउ गरे ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता नमाे बुद्धले लियाे । पहिलो हाफको ३३ औं मिनेटमा नमो बुद्धका जेम्स प्रजापतिले गोल गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाए । डिफेन्स लाईनवाट आएको लामो पासलाई नियन्त्रणमा लिदैं वान भर्सेस वानमा उनको सटिक प्रहार गोल रक्षकसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियाे । यसै गरी, पहिलो हाफकै थप गरिएको सयममा चर्चका धुव राईले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । विपक्षी डिफेण्डरलाई विट गर्दै अभिशेष महतोले डिबक्स भित्र दिएको पासलाई सदुपयोग गर्नै उनले गोल गरेका थिए ।

दोस्रो हाफमा पुनः नमो बुद्धले अग्रता लियो । खेलको ६१ औं मिनेटमा पुनः जेम्स प्रजापतिले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । विवेक गुरुङको असिस्टमा बाँया एङगलवाट उनले गरेको प्रहारले जाली चुमेको थियो । खेलको ८५ औं मिनेटमा चर्चका राज भुसालले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । अभिशेक महतोले गोललाईन नजिकै मिलाई दिएको पासलाई उनले वान चटमै फिनिसिङ दिएका थिए । अभिशेकले विदेशी खेलाडी तल्लावाट डिबक्सभित्र प्राप्त पासलाई हेडर मार्फत भुसाललाई पास मिलाई दिएका थिए ।

दोस्रो सेमिफाईनलको म्यान अफ दि म्याच नमो बुद्धका गोलरक्षक जयरथ शेख घोषित भए । यसै गरी, फ्यान अफ दि म्याद प्रिसेन श्रेष्ठ घोषित भए । दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति रुपनाराण जवेगू र आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले नगद ७ हजार ५ सय र ट्रफी हस्तान्तरण गरे ।

आगामी शनिबार हुने प्रतियोगिताको फाईनल खेलमा नमो बुद्धले मछिन्द्र फुटबल क्लब, काठमाण्डौंको सामना गर्ने भएको छ । मछिन्द्रले इन्ट्रा पथरी ११ फुटबल क्लब, मोरङलाई २–१ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए ।

हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहने प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।

प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी थिए ।

शनिबार हुने फाईनलः
मछिन्द्र फुटबल क्लब, काठमाण्डौं विरुद्ध नमो बुद्ध युथ फुटबल क्लब, सप्तरी

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ७ : ०५ बजे