पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२७ फागुन, पाँचथर । फिदिममा जारी अन्तराष्ट्रिय आमन्त्रण वाइवाइ पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा नेपाल पुलिस क्बल, काठमाण्डौलाई हराउँदै नमो बुद्ध युथ फुटबल क्लब, सप्तरी अन्तिम चारमा प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा मंगलबार भएको प्रतियोगिताको अन्तिम क्वाटर फाईनलमा ए डिभिजन क्लब पुलिस विरुद्ध ३–० को सहज जित दर्ता गर्दै नमो बुद्धले सेमिफाईनलको यात्रा तय गरेको हो । नमो बुद्धले पहिलो हाफमा २ र दोस्रो हाफमा थप १ गोल गरेको थियो ।

खेलको ३९ औ मिनेटमा नमो बुद्धका एलेक्स विलियमले गोल गर्दै आफ्नो टालीलाई १–० को अग्रता दिलाए । मैदानको मध्यभागवाट एक्लै बल अगाडि वढाएका एलेक्सले गोलपोष्ट नजिकै बाँया एङगलवाट गरेको भली प्रहारले जाली चुमेको थियो । यसै गरी, पहिलो हाफको अतिरिक्त समयमा दिपेश चाम्लिङ राईले अर्को गोल गर्दै पुलिस विरुद्धको अग्रता दोब्बर पारे । कर्नरवाट आएको बललाई डिबक्सभित्र नियन्त्रणमा लिँदै सुदिप मगरले गरेको प्रहार गोलरक्षकले रोके पनि रिबाण्ड बललाई वान टचमै राईले गोलपोष्टको दिशा दिए ।

दोस्रो हाफमा समेत नमो बुद्धले पुलिस विरुद्ध दवाव सिर्जना ग¥र्यो । खेलको ६५ औं मिनेटमा एलेक्स विलियमले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । दिपेश चाम्लिङ राईले मिलाई दिएको पासमा विपक्षी डिफेण्डरलाई चलाखीपूर्ण तरिकाले विट गर्दै उनले गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेलमा केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पुलिस पहिलो खेलवाट नै घर फर्किन बाध्य भयो ।

अन्तिम क्वाटर फाईनलको म्यान अफ दि म्याच २ गोल गरेका नमो बुद्धका एलेक्स विलियम्स घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे र आयोजक पाँचथर क्लबका उपाध्यक्ष शिव अधिकारीले नगद ७ हजार ५ सय र ट्रफी हस्तान्तरण गरे ।

आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए ।

हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहने प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।

बुधबार हुने पहिलो सेमिफाईनलः
मछिन्द्र फुटबल क्बल, काठमाण्डौं विरुद्ध इन्ट्रा पथरी- ११ फुटबल क्लब, मोरङ

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ०८ बजे