पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२६ फागुन, पाँचथर । फिदिममा जारी अन्तराष्ट्रिय आमन्त्रण वाइवाइ पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा हिमालयन शेर्पा क्लब, काठमाण्डौंलाई हराउँदै मछिन्द्र फुटबल क्लब, काठमाण्डौं सेमिफाईनल प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा सोमबार भएको प्रतियोगिताको तेस्रो क्वाटर फाईनलमा ए डिभिजनका दुई क्लबको भिडन्तमा हिमालयन शेर्पा विरुद्ध २–१ को जित दर्ता गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो । मछिन्द्रले पहिलो हाफमा २ गोल गरेको थियो भने शेर्पाले खेलको अन्त्यतिर १ गोल फर्काए पनि हार टार्न सकेन ।

खेलको २७ औ मिनेटमा मछिन्द्रका स्टफेनले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । मोहित गुरुङले फ्रिकिकवाट डिबक्सभित्र मिलाई दिएको पासलाई उनले विपक्षी दुई डिफेण्डरका बीचवाट चलाखीपूर्ण रुपमा गरेको प्रहारले जाली चुमेको थियो । यसै गरी, खेलको ३० औं मिनेटमा मछिन्द्रका जय गुरुङले अर्को गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । खेलमैदानको मध्यभागवाट बिशाल घलानले लङ पास मार्फत उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै डिबक्सभित्रवाट उनले गरेको शक्तिशाली प्रहारलाई हिमालयन शेर्पाका गोल रक्षक बिवश चौधरीले रोक्न सकेनन् ।

दोस्रो हाफको खेलको ९० औं मिनेटमा हिमालयनका सुजन स्याङतानले गोल गर्दै खेलमा फर्कने संकेत गरे । रोबर्टले डिबक्सभित्रवाट मिलाई दिएको पासलाई अनमार्क रहेका स्याङताले गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

वल पोजिसन राख्दै हिमालयन शेर्पालाई दवावमा राखेको मछिन्द्रले पटक पटक गरेका आक्रमणमा गोलरक्षक चौधरी बाधक बने । मछिन्द्रका आधा दर्जन प्रहारलाई उनले बचाउ गरेपछि फराकिलो गोल अन्तर पार्ने अवसरवाट मछिन्द्र बञ्चित भएको थियो । यसै गरी, हिमालयन शेर्पाले समेत गोल गर्ने केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा पहिलो खेलवाट नै घर फर्कन बाध्य भयाे ।

तेस्रो क्वाटर फाईनलको म्यान अफ दि म्याच मछिन्द्रका बिशाल घलान घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटि सचिव राजकुमार भण्डारी र आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले नगद ७ हजार ५ सय र ट्रफी हस्तान्तरण गरे ।

आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए ।

हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्धक रहेकाे प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।

मंगलबार हुने अन्तिम क्वाटर फाईनल:
नेपाल पुलिस क्लब, काठमाण्डौं विरुद्ध नमो बुद्ध युथ फुटबल क्लब, सप्तरी

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ५७ बजे