मंगल बेघा
२५ फागुन, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा हिल्स फुटबल एकेडेमी, भारतलाई पराजित गर्दै चर्च बोइज युनाईटेड, काठमाण्डौं अन्तिम चारमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटर फाईनलमा प्रतियोगिताको एकमात्र विदेशी टोली हिल्सलाई ४–० को फराकिलो अन्तरले हराउँदै लिग लिडर चर्च बोइज सेमिफाईनलमा प्रवेश गरेको हो । मैदानको अनुभव प्राप्त चर्चले पहिलो हाफमा २ र दोस्रो हाफमा थप २ गोल गरेको थियो ।

पहिलो हाफको पाँचौ मिनेटमा चर्च बोइजका राज भुसालले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । विपक्षी डिफेण्डरले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै उनले गरेको सटिक प्रहारले जाली चुमेको थियो । यसै गरी, आठौं मिनेटमा चर्चका विदेशी खेलाडी फोफोना इब्राहिमले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा उनले गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो ।
खेलको ६३ औं मिनेटमा चर्च बोइजका अभिशेक महतोले गोल गर्दै टिमको अग्रता ३–० पु¥र्याए । फोफोनाको फ्रिकिकलाई राज भूसालले हेड मार्फत डिबक्सभित्र मिलाई दिएको पासलाई सदुपयोग गर्दै महतोले गोल गरेका हुन् । दोस्रो हाफको अतिरिक्त समयमा राज भुसालले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै ४–० को फराकिलो अन्तरको जित दिलाए ।

चर्च विरुद्ध गोल पोजिसनमा समेत कमजोर देखिएको हिल्स एकेडेमी पहिलो खेलवाट नै घर फर्किन बाध्य भयो । हिल्सले केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।
खेलको म्यान अफ दि म्याच चर्च बोइजका राज भूसाल घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान र पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले नगद ७ हजार ५ सय र ट्रफी हस्तान्तरण गरे ।

प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।
आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्धक रहने प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।
प्रतियोगिताको सोमबार हुने तेस्रो क्वाटर फाइनल :
मछिन्द्र फुटबल क्लब, काठमाण्डौ विरुद्ध हिमालयन शेर्पा क्लब, काठमाण्डौं
तस्विर सौजन्य : दिलिप राई
प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार ७ : ३१ बजे
प्रतिक्रिया