मंगल बेघा
२४ फागुन, पाँचथर । जिल्लाकै सर्वाधिक राशिको अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा आयोजक पाँचथर क्लबलाई हराउँदै इन्ट्रा पथरी-११ फुटबल क्लब मोरङ सेमिफाईनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आयोजक विरुद्ध २–० को जित दर्ता गर्दै पथरी-११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान र दर्शकको साथ पाए पनि आयोजकलाई दुवै हाफमा समान १-१ गोल गर्दै पथरीले सहज जित दर्ता गरेको हो ।

पहिलो हाफको पाँचौ मिनेटमा पथरीका सनम धिमालले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । आयोजकका खेलाडीहरु सम्हालिन नपाउँदै मध्यमागवाट सहकर्मीले मिलाई दिएको पासलाई धिमालले वान भर्सेस वानमा सोझै जाली चुमाएका थिए ।
यसै गरी दोस्रो हाफको अतिरिक्त समयमा अंकित लिम्बूले गोल गर्दै आफ्नाे टिमलाई २–० को अग्रता दिलाए । मध्यभागवाट आएको लामो पासलाई नियन्त्रणमा लिएपछि विपक्षी डिफेण्डरलाई विट गर्दै उनले गरेका शक्तिशाली प्रहार सोझै गोलमा परिणत भएको थियो ।
पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आयोजक पहिलाे खेलमा नै पराजित हुन पुग्यो । स्थानीय र विदेशी खेलाडी सहित मैदान उत्रिएको आयोजकका खेलाडीहरुले पटक-पटक गरेको प्रहारलाई पथरीका गोलरक्षक समिर क्षेत्रीले विफल पारेका थिए ।
खेलको म्यान अफ दि म्याच पथरी-११ का गोलरक्षक समिर क्षत्री घोषित भए । उनलाई उद्घाटन सत्रका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले नगद ७ हजार ५ सय पुरस्कार र ट्रफी हस्तान्तरण गरे ।

प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास सहित विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।
प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।
आगामी चैत्र ४ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहने प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।
प्रतियोगिताको आइतबार हुने दोस्रो क्वाटर फाइनल :
चर्च बोइज युनाईटेड फुटबल क्लब काठमाण्डौ विरुद्ध हिल्स फुटबल एकेडेमी भारत
प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार ९ : १३ बजे
प्रतिक्रिया