पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

यहि फागुन २४ देखि चैत्र ४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

मंगल बेघा

१५ फागुन, पाँचथर । जिल्लाकै सर्वाधिक राशिको वाइवाइ अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा ८ टिमको सहभागिता रहने भएको छ ।

फिदिम माविको खेल मैदानमा यहि फागुन २४ देखि चैत्र ४ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र मोफसलका ३ सहित ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजक पाँचथर क्लबले जनाएको छ । क्लबका अध्यक्ष कमल तुम्रोकका अनुसार प्रतियोगितामा सहभागी हुने काठमाण्डौंका ए डिभिजन क्लबहरुमा लिग विजेता चर्च ब्वाईज युनाईटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्बल र हिमालयन शेर्पा क्बल रहेका छन् । यसै गरी, एक मात्र विदेशी टिमका रुपमा हिल्स फुटबल एकेडेमी भारत सहभागी हुनेछ भने मोफसलका क्लबहरुमा नमोबुद्ध यूवा फुटबल क्लब सप्तरी, पथरी ११ फुटबल क्बल मोरङ र आयोजक पाँचथर क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्धक रहने प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।

प्रतियोगिताको एन्थम सार्वजनिक

वाइवाइ अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ को अफिसियल एन्थम सार्वजनिक भएको छ ।

प्रतियोगिताको आयोजक पाँचथर क्लबले हालै एक कार्यक्रमकाबीच एन्थम सार्वजनिक गरेको हो । एन्थममा विकास लिम्बू, पदम राई, डीपी खनाल, मुना ठटाल, डेबिट संखर, असोक मुकारुङ, दिप्सन आङ्बो, सुर्य आङ्देम्बे, मदन सेन्चुरी, सम्झना योङहाङ, सगुन लावती र अमृता लिम्बूको स्वर रहेको छ ।

डीपि खनालको शब्द रहेको एन्थमलाई देबेश राईले संगीत भरेका हुन् । ५ मिनेट ३० सेकण्डको एन्थममा भूपेन योङहाङ र फुङसो जवेगूको भिडियोग्राफीलाई टिकाराम अधिकारी र पुरन मगरले सम्पादन गरेका छन् । भिडियोमा खेलकुदका साथै पाँचथरका पर्यटकीय, ऐतिहासिक स्थलहरु समावेश गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ४३ बजे