पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

११ फागुन, पाँचथर । पाथिभरा (मुक्कुमलुङ)मा केवलकार निर्माण कार्यको विरोध जनाउँदै आएको आन्दोलरत पक्ष र प्रहरीबीच ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ वजारमा शनिबार भएको झडपमा परी २४ जना घाईते भएका छन् भने १५ जना आन्दोलनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शनिबार साँझ आन्दोलनरत पक्षले निकालेको राँके जुलुस नियन्त्रण गर्ने क्रममा विरेन्द्र चोकमा भएको झडप र घटनाका आरोपितहरुलाई प्रहरीले रातीसम्म नियन्त्रण गर्ने क्रममा १२ प्रहरी र १२ आन्दोलनकारी घाईते भएका हुन् । घाइते मध्ये गंभीर स्वास्थ्य अवस्था भएका ३ आन्दोलनकारी र १ प्रहरीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

घटनामा परी घाइते हुनेमा इलाम जिल्ला फाकफोकथुम गाउँपालिका १ का ३९ वर्षीय रामकुमार राईको फिदिम स्थित समर्पित अस्पतालमा उपचार भईरहेको छ । यसै गरी, ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका ४ का समर येङ्देन र आठराई त्रीबेणी गाउँपालिका १ का शिशिर पोमु लिम्बुको सुनसरी धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

आन्दोलनलाई दवाउन प्रहरीले क्रुर र अमानवीय रुपले दमन गरेको आन्दोलनरत पक्षले आरोप लगाएको छ । आन्दोलनरत पक्षले आईतबार विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम सकेर घरमा बसिरहेका आन्दोलनकारीहरुलाई अश्रुग्यास प्रहार गरी निर्घात कुटपिट गरिएको उल्लेख गरिएको छ । साथै, घाइतेका निशूल्क उपचार, उच्च स्तरीय छानविन र केवलकार खारेजीको माग आन्दोलनरत पक्षले राखेका छन् । स्थानीय प्रशासनले भने आन्दोलनलाई स्थितिभन्दा बाहिर जान नदिन वल प्रयोग गर्नु परेको जनाएको छ ।

आन्दोलनका क्रममा प्रहरीले ४ महिला सहित १५ जनालाई शनिबार गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा पाँचथरका २२ वर्षीय यमन राई, ४७ वर्षीय मित्र लिङदेन र ४० वर्षीया सुनिता केरुङ, सुनसरीका २३ वर्षीय बिबेक लिम्बु, १९ वर्षीय जुरन राई, ३२ वर्षीय अर्जुन तामाङ, ३२ वर्षीय अनुप सुब्बा र १९ वर्षीय बिशेस सुब्बा रहेका छन् । यसै गरी, झापाका बर्षी २० कि इक्सा लिम्बु र २१ वर्षीया निहा चेम्जोङ र ३० वर्षीया दिक्ष क्षेत्री, ताप्लेजुङ ४५ वर्षीय नबिन पोमु रहेका छन् । प्रहरीले मोरङका ५८ वर्षीय तुलाराम तामाङ ३९ वर्षीय हरी लिम्बु र ईलामका ५१ वर्षीय योगेन्द्र लावतीलाई समेत गिरफ्तार गरेको छ।

गिरफ्तार गरिएकाहरुकाे कानुनी प्रकृया अनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सूचना जारी गर्दै फुङलिङ र वलुडाँडा क्षेत्रमा निषेधित क्षेत्र तोकेको छ । ति क्षेत्रमा ५ जना भन्दा वढि भेला हुन नपाईने स्थानीय प्रशासनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ५९ बजे