मंगल बेघा
३० माघ, पाँचथर । ताप्लेजुङको पाथिभरा (मुक्कुमलुङ) मा निर्माणाधिन केवलकार विरुद्ध आन्दोलनरत पक्षहरुले फिदिममा रहेकाे ग्लोबल आईएमई बैंकमा बुधबार दिउँसो धर्ना दिएका छन् ।
फिदिम वजार स्थित गणतन्त्र चोकमा रहेको ग्लोबल आईएमई बैंक शाखा कार्यालयमा आन्दोलनकारीले धर्ना दिएका हुन् । धर्ना दिन आएका आन्दोलनकारीले ‘नो केवलकार’, ‘मुक्कुमलुङमा केवलकार चाहिदैन’, ‘स्टप इथ्निक जेनोसाईड’, ‘गो ब्याक चन्द्र ढकाल’ आदि लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

धर्ना कार्यक्रमलाई संबोधन गर्दै पहिचानबादी मोर्चा पाँचथरका संयोजक दिलेन्द्र कुरुम्बाङले ग्लोबल आईएमई बैंकका सञ्चालक चन्द्र ढकालले मुक्कुमलुङमा स्थानीयको माग एवं चाहना विपरित धार्मिक स्थलमा नाफाका लागि जबरजस्त केवलकार निर्माण गर्न लागेको भन्दै त्यसको रचनात्मक प्रतिवाद गर्नका लागि सो बैंकमा खोलिएका खाताहरु बन्द गर्न आग्रह गरे ।
केन्द्रद्धारा प्राप्त परिपत्र अनुसार जिल्लामा आन्दोलनको कार्यक्रम आयोजना गरिएको मुक्कुमलुङ संघर्ष सहयोग समिति पाँचथरका संयोजक कमल हाङसरुम्बाले बताए । आफ्ना मागहरु पूरा नभए अब पदयात्रा गर्ने, फुङलिङ नगरपालिकाको कार्यालय घेराउ गर्ने, निर्माण सामग्री ढुवानीमा अवरोध गर्ने, विरोध सभा गर्ने, ज्ञापन पत्र बुझाउने तथा यातायात सहित आम हड्ताल गर्ने कार्यक्रम तय गरिएको संयोजक हाङसरुम्बाले जानकारी दिए ।

ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माणाधिन केवलकारका विरुद्ध दर्जनको हाराहारीमा सामाजिक संस्था एवं दवाव समूहहरु आन्दोलनरत छन् भने सोही संख्याका पहिचानधर राजनीतिक दलहरुले समेत अन्तरदलीय राजनीतिक दलको मोर्चा निर्माण गरी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आएका छन् । सो विषयमा माघ १२ गते फुङलिङ नगरपालिका ११ स्थित वलुडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरी झण्डै दुई दर्जन प्रहरी र पाँच जना आन्दोलनकारी घाईते भएका थिए । प्रहरीको गोली लागेर घाइते भएका सहित तीन जनाको काठमाण्डौं स्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ।
आन्दोलनरत पक्ष र नेपाल सरकारका प्रतिनिधिबीच दुई पटक वार्ता भए पनि सहमति हुन नसकेपछि आन्दोलनकारीहरुले पुनः आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
हेर्नुहोस् पाथिभरा (मक्कुमलुङ) संरक्षणका लागि आन्दोलनरत पक्षले घोषणा गरेका कार्यक्रमहरु:-
१. मिति २०८१ माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंक सहित आइएमइ समूह १ नं. प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने ।
२. २०८१ फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ ।
३. केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ ।
४. केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने ।
५. काठमाडौं, इटहरी र विर्तामाडमा केबलकार बिरोध सभा गर्ने ।
६. केबलकार खारेजीका लागि १ नं. प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई बिरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दुतावासबाट विरोधपत्र पठाउने ।
७. अनिश्चितकालिन यातायात बन्द र आमहडताल ।
प्रकाशित मिति : ३० माघ २०८१, बुधबार ८ : ४९ बजे
प्रतिक्रिया