मंगल बेघा
१२ माघ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकप– २०८१ को उपाधि रेड स्टार क्लब झापाको पोल्टामा परेको छ । फिदिम माविको खेल मैदानमा शनिबार भएको फाईनलमा आयोजक फिदिम भेट्रान्स क्लब, फिदिमलाई ४–२ ले हराउँदै विर्तामोडले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
फिदिम माथि सहज जित हात पर्ने क्रममा विर्तामोडले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गरेको थियो । फिदिमले भने दोस्रो हाफमा २ गोल फर्काएको थियो ।

विर्तामोडको तर्फवाट ह्याट्रिक गरेका खेमराज पौडेलले पहिलो हाफको १६ र ३५ औं तथा दोस्रो हाफको ५५ औं मिनेटमा गोल गरेका थिए । यसै गरी, खेलको २५ औं मिनेटमा विर्तामोडका बुद्ध चेम्जोङले थप १ गोल गरेका थिए । फिदिमका अशोक लिम्बूले दोस्रो हाफको ३९ औं मिनेटमा र सुवास लिम्बूले ६४ औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए ।
फाईनल खेलको म्यान अफ दि म्याच रेड स्टारका कप्तान राजकुमार श्रेष्ठ घोषित भए । उनले २ हजार २ सय पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेता रेड स्टार क्लबले १ लाख ५ हजार ५ सय ५५ नगद, ट्रफी मेडल र प्रमाण पत्र हात पार्यो । यसै गरी, उपविजेता फिदिम भेट्रान्स क्लबले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधामा रेड स्टारका खेलाडीहरु मिनबहादुर बस्नेत उत्कृष्ट गोलरक्षक, भुपेन जबेगु सर्वोत्कृष्ट खेलाडी, बुद्ध चेम्जोङ बेस्ट फरवार्ड र हाइ स्कोरर खेमराज पोखरेल घोषित भए । यसैगरी, बेस्ट डिफेन्डर फिदिमका अनिल चुँडाल, उत्कृष्ट मिडफिल्डर प्रदेश केसी घोषित भए । यसै गरी, मस्ट भेट्रान्स प्लेयर बौद्ध भेट्रान्स रानीटारका हर्कराज नेम्बाङ बने भने उत्कृष्ट प्रशिक्षक रेड स्टारका प्रेमकृष्ण श्रेष्ठ घोषित भए ।
सर्वोत्कृष्ट खेलाडीले ५ हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही २ हजार २ सय प्राप्त गरे । प्रतियोतिाकाे विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट छनाैट भएका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान सहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा एक विदेशी सहित आठ टिमको सहभागिता रहेको थियो । फिदिम भेट्रान्स गोल्डकपको पहिलो संस्करणको उपाधि इलामको गोरख भेट्रान्सले जितेको थियो ।
तस्विर साैजन्य : खेल पत्रकार दिपक बाेहाेरा
प्रकाशित मिति : १२ माघ २०८१, शनिबार ७ : ५८ बजे
प्रतिक्रिया