मंगल बेघा
११ माघ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकप– २०८१ मा आयोजक फिदिम भेट्रान्स क्लब, पाँचथर र रेड स्टार क्लब, विर्तामाेड फाईनल प्रवेश गरेका छन् ।
फिदिम माविको खेलमैदानमा शुक्रबार भएको सेमिफाईनलमा फिदिम भेट्रान्सले दुधे भेट्रान्स, झापालाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै फाईनल प्रवेश गरेको हो । यसै गरी, शुक्रबार नै भएको दोस्रो सेमिफाईनलमा रेड स्टारले बौद्ध भेट्रान्स, रानीटार पाँचथरलाई ३–२ हराउँदै उपाधि नजिक पुगेको हो ।

फिदिम भेट्रान्स र दुधे भेट्रान्सबीचकाे खेल १–१ को बराबरी खेलेपछि पेनाल्टी सुटआउटवाट नजिता लिइएको थियो । पेनाल्टी सुटआउटमा फिदिमका निराजन श्रेष्ठ, सुवास लिम्बू र हर्क लिम्बुले गोल गरे । दुधेका सुवास आङथुपोले गोल गर्दा देवी तुम्बापो, हर्कबहादुर तामाङ र सन्तोष नेम्बाङ गोल गर्नवाट चुकेका थिए । सुरुवाती दुई प्रहार लिएका तुम्बापो र तामाङको प्रहारलाई फिदिमका गोलरक्षक रोशन श्रेष्ठले बचाउ गरेका थिए भने चौथो प्रहार लिएका नेम्बाङको प्रहार पोष्टबारमा लागेर फर्किएको थियो ।
खेलमा सुरुवाती अग्रता भने दुधेले लिएको थियो । पहिलो हाफको ३४ औं मिनेटमा दुधेका सुवास आङथुपोले पेनाल्टीवाट गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । फिदिमका सुवास लिम्बूले ह्याण्ड गरेपछि दुधेले पेनाल्टीको अवसर पाएको थियो । दोस्रो हाफको ३९ औं मिनेटमा फिदिमले बराबरी गोल फर्कायो । डिबक्स बाहिर पाएको फ्रिकिकलाई फिदिमका देउमान लिम्बूले सिधै पोष्टभित्र प्रहार गरेपछि दुधेका गोल रक्षकवाट रिबाउण्ड भएको बललाई अनमार्क रहेका सुवास लिम्बूले सिधै चुमाउँदै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

पहिलो सेमिफाईनलको म्यान अफ दि म्याच फिदिम भेट्रान्सका गोल रक्षक रोशन श्रेष्ठ घोषित भए । उनले २ हजार २ सय पुरस्कार पाए ।
प्रतियोगिताको दोस्रो सेमिफाईनल रेड स्टार क्लब, विर्तामोड र बौद्ध भेट्रान्सबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो । पहिलो हाफको २५ औं मिनेटमा विर्तामोडका खेमराज पौडेलले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । दोस्रो हाफको ४७ औं मिनेटमा पुनः पौडेलले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । २–० ले पछि परेको बौद्धले लगातार २ गोल गर्दै खेर बराबरीमा ल्यायो । बौद्धका दिनेश गुरुङले खेलको ५० र ५७ औं मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । खेलको ६३ औं मिनेटमा विर्तामोडका अंगुर कुमार खड्कीले गोल गर्दै आफ्नाे टिमलाई ३–२ को अग्रता दिलाए । बाँकी समयमा दुवै टिमवाट गोल नभएपछि बौद्धको यात्रा सेमिफाईनलवाट टुंगिएको हो ।
यस खेलको म्यान अफ दि म्याच रेड स्टारका बुद्ध चेम्जोङ घोषित भए । उनले २ हजार २ सय पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको फाईनल शनिबार आयोजना गरिने आयोजक फिदिम भेट्रान्स क्बलका अध्यक्ष रोशन श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शनिबार हुने फाईनल : फिदिम भेट्रान्स, पाँचथर विरुद्ध रेडस्टार क्लब, विर्तामोड (दिउँसो १ वजे)
प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार ८ : १९ बजे
प्रतिक्रिया