मंगल बेघा
९ माघ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकप– २०८१ मा आयोजक फिदिम भेट्रान्स क्लब र बौद्ध भेट्रान्स क्लब रानीटार पाँचथर सेमिफाईनलमा प्रवेश गरेका छन् ।
फिदिम माविको खेलमैदानमा बुधबार भएको खेलमा आयोजक फिदिम भेट्रान्स क्बलले प्रतियोगिताको एक मात्र विदेशी टोली युनाईटेड फ्रेन्ड्स क्लब बुङकुलुङ दार्जेलिङलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । यसै गरी, दोस्रो क्वाटर फाईनलमा बौद्ध भेट्रान्स क्लब रानीटार पाँचथरले आठराई गाउँपालिका तेह्रथुमलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
आयोजक फिदिम र पाहुना टोली दार्जेलिङबीच भएको प्रतियोगिताको उद्घाटन खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि टाइब्रेकर मार्फत निर्णय लिइएको थियो । टाईब्रेकरमा पाहुना टोली माथि ४–१ को नतिजा सहित आयोजकले सेमिफाईनलको यात्रा तय ग¥र्यो । आयोजकका निराजन श्रेष्ठ, सुवास लिम्बू, प्रदेश केसी र हेम नेपालीको प्रहार गोलमा परिणत भएको थियो । पाहुना टोली दार्जेलिङका लागि दिपक राईले गोल गर्दा राजु तामाङ र सञ्जय गोलेको प्रहारलाई फिदिमका गोलरक्षक रोशन श्रेष्ठले बचाउ गरेका थिए ।
पहिलो हाफमा फिदिमका सुवास लिम्बूले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाएका थिए । उनले बाँया भागवाट गरेको प्रहार भुईमा ड्रप हुँदै दार्जेलिङका गोलरक्षकलाई नागेर गोलमा परिणत भएको थियो । दार्जेलिङका राजु राईले दोस्रो हाफमा गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए । कर्नरवाट आएको बललाई हेड मार्फत उनले जाली चुमाएका थिए ।
उद्घाटन खेलको म्यान अफ दि म्याच युनाईटेड फ्रेन्ड्स क्लबका दुई पेनाल्टी प्रहार रोकेका फिदिमका गोलरक्षक रोशन श्रेष्ठ घोषित भए । उनले नगद रु २ हजार २ सय प्राप्त गरे ।
बुधबार नै भएको दोस्रो क्वाटर फाईनलमा आठराई गाउँपालिकालाई सडन डेथमा ८–७ ले हराउँदै बौद्ध भेट्रान्स क्लब अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि टाईब्रेकर मार्फत खेलको निर्णय लिइएको थियो ।
टाईब्रेकरमा बौद्ध भेट्रान्सका सुरुवाती पाँच प्रहार गोलमा परिणत भएका थिए । बौद्धका लागि टिकाराम विक, जलकुमार गुरुङ, तेजबहादुर तामाङ, हर्क नेम्बाङले गोल गरेका थिए । आठराईका सुनिल शाही, युवराज भुजेल, प्रकाश थापा, जीवन सेम्बु, सरोज बस्नेतले गोल गरेका थिए । टाईब्रेकरमा दुवै टोलीको ५–५ गोल भएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथमा बौद्धका दिनेश गुरुङ, कृष्णराज नेम्बाङ र टेकबहादुर गुरुङले गोल गरे । आठराईका बिशाल गुरुङ, कालु लामाले गोल गरे भने तिलक तामाङको प्रहार बौद्ध भेट्रान्सका गोलरक्षक टेकबहादुर गुरुङले बचाउ गरेका थिए ।
दोस्रो क्वाटर फाईनलको म्यान अफ दि म्याच बौद्ध भेट्रान्सका गोलरक्षक टेकबहादुर गुरुङ घोषित भए । उनले नगद रु २ हजार २ सय प्राप्त गरे ।
प्रतियोगिताको सेमिफाईनल शुक्रबार र फाईनल शनिबार आयोजना गरिने आयोजक फिदिम भेट्रान्स क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विहिबारका खेलहरु
तेस्रो क्वाटर फाईनल : दुधे भेट्रान्स झापा विरुद्ध स्काई क्लब धरान (दिउँसो १ वजे)
अन्तिम क्वाटर फाईनल : रेडस्टार क्लब झापा विरुद्ध गोरख भेट्रान्स इलाम (दिउँसो ३ वजे)
प्रकाशित मिति : ९ माघ २०८१, बुधबार ८ : ३९ बजे
प्रतिक्रिया