पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१ माघ, पाँचथर । नीजि तथा आवसीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) पाँचथरको अध्यक्षमा नविन ओझा निर्वाचित भएका छन् ।

फिदिम वजार स्थित विद्याबरदान इङलिस स्कुलको सभाकक्षमा सोमबार सम्पन्न प्याब्सनको ११ औं जिल्ला अधिवेशनले ओझाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा पाहाङ योङया, सचिव अनुज भट्टराई, सहसचिव कृष्ण बस्नेत र कोषाध्यक्षमा सुमिता लावती रहेका छन् । निर्वाचित सदस्यहरुमा गोपाल पोखरेल, सन्तोष सेलिङ, खगेन्द्र राई, डीबी गुरुङ र उपेन्द्र तावाहाङ रहेका छन् । यसै गरी, इन्दिरा मेयोङबा, तुलसीराम खतिवडा, पुजा बान्तावा राई, राजकिशोर पोनार र उर्मीला अर्याल समेत सदस्यमा निर्वाचित भएका छन् ।

अधिवेशनले चन्द्रप्रसाद भट्टराई र गणेश भण्डारीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ । जिल्ला समिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले नीजि विद्यालयहरुले शिक्षाको विकासमा ठुलो योगदान पु¥याएको उल्लेख गर्दै सरकारवाट सहकार्यको अपेक्षा गरे । जनताको सवैभन्दा नजिक स्थानीय सरकार रहेको उल्लेख गर्दै प्रमुख अतिथि ढुंगानाले स्थानीय तहको नेतृत्वले समन्वय गरे नीजि विद्यालयहरुले अझै शिक्षाको गुणस्तर वृद्धिका लागि सहयोग गर्न सक्ने बताए ।

कार्यक्रमलाई जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, जिल्ला स्थित राजनीतिक दलका नेता सहितका अतिथिहरुले संबोधन गरेका थिए ।

प्याब्सनमा जिल्लाका ४३ नीजि विद्यालयहरु आवद्ध रहेको निर्वाचित अध्यक्ष ओझाले जानकारी दिए । जिल्लामा रहेका अन्य नीजि विद्यालयहरुलाई समेत आवद्ध गराई संगठनको सुदृढिकरण गर्ने अध्यक्ष ओझाले बताए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : १६ बजे