पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१८ पौष, पाँचथर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता- २०७९ मा महिला डुआथलन स्प्रिन्टको स्वर्णधारी इन्द्रकला नेम्बाङ (निक्की)लाई फिदिममा बुधबार सम्मान गरिएको छ ।

गण्डकी प्रदेशको पोखरामा २०७९ असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना भएको सो प्रतियोगिताको महिला डुआथलन स्प्रिन्ट विधामा स्वर्ण पदक जितेकी निक्कीलाई जिल्ला खेलकुद विकास समिति पाँचथरले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । उनलाई खेलाडी सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले दोसल्ला र खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

उनले स्वर्ण पदक जितेको डुआथलन स्प्रिन्ट विधा दौड र साइकलिङ गरी दुरी पार गर्ने एक खेल हो । यसमा सुरुमा ५ किलोमिटर दुरी दौडवाट, त्यसपछि २० मिलोमिटर दुरी साइकल मार्फत र अन्तिममा २.५ किलोमिटर पुनः दौडवाट पूरा गर्नु पर्ने हुन्छ ।

सम्मानले खुशी र खेल प्रतिको आकर्षण मात्र नभएर जिम्मेवारी समेत वढेको सम्मानित खेलाडी निक्कीले बताईन् । “आफ्नो जिल्लामा सम्मानित हुन पाएकोमा खुशी छु”– उनले भनिन्– “यसले खेलप्रतिको आकर्षण मात्र हैन, जिम्मेवारी समेत वढेको महशुस गरेकी छु ।” आगामी संस्कणरणको १० औं राष्ट्रिय खेलकुदमा आफ्नै जिल्ला र प्रदेशवाट सहभागी हुने समेत उनले जानकारी दिईन् ।

उनले गत राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली त्रिभूवन आर्मीवाट सहभागी भई स्वर्ण पदक जितेकी थिईन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा निक्की आवद्ध त्रिभूवन आर्मी क्बलले १ सय ७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित च्याम्पियन बनेको थियो । द्धितीय स्थान हाँसिल गरेको सशस्त्र प्रहरी बलले कुल ६५ स्वर्ण, ७२ रजत र ८२ कांस्य पदक हात पार्दा नेपाल पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्य पदक सहित तृतीय स्थान हाँसिल गरेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय क्लब (आर्मी, पुलिस र एपिएफ) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीका ६ हजार एक सय २७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा महिला ब्याडमिन्टन खेलाडी सकुन योक्पाङदेन नेम्बाङलाई समेत ब्याडमिन्टन खेलको विकासमा योगदान पु¥र्याएको भन्दै सम्मान गरिएको थियो । उनी चौथो र पाँचौं राष्ट्रिय खेलकुदमा विकास क्षेत्रको प्रतिनिधित्व गर्दै ब्याडमिन्टन खेलमा सहभागी भएकी थिईन् । फिदिम नपा ४ स्थायी घर भई हाल श्रीमान सन्त नेम्बाङ र छोराहरु सहित बेलायत बबोबास गरिरहेकी नेम्बाङ सामाजिक सेवामा समेत सकृय छिन् । नेम्बाङ दम्पतीले जिल्लामा हुने हरेक खेलकुद एवं सामाजिक गतिविधिमा सहयोग पु¥याउँदै आएका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि आङदेम्बेले सम्मानित खेलाडीलाई बधाई दिँदै खेलकुदमा निरन्तरताको शुभकामना व्यक्त गरे । खेलकुद र सामाजिक सेवामा सकृय नेम्बाङ दम्पती प्रति समेत प्रमुख अतिथि नेम्बाङले धन्यवाद व्यक्त गरे । कार्यक्रमका अध्यक्ष एवं खेलकुद विकास समितिका अध्यक्ष मोक्तानले आगामी संस्करणमा जिल्ला र प्रदेशवाट सहभागी भई उपाधि हात पारेमा प्रदेश सरकार सहित जिल्लावाट समेत नगदद्धारा पुरस्कृत गरिने बताए ।

कार्यक्रममा खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरु, खेलजन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार एवं अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ११ : २५ बजे