दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६२ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।
न्याश्नल फायर एजेन्सीले मृतक ६२ मध्ये ३७ जना महिला र २५ जना पुरुषहरू रहेको जनाएको छ।
उक्त विमान रन वेबाट उछिट्टिएको थियो र देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो।
जेजु एअरको उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।
केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको एक जना अग्नि नियन्त्रकले रोएटर्स समाचार संस्थालाई भनेका छन्।
एक जना विमानस्थलका अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन्।
उद्धार प्रयास जारी
सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका योन्हापले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्याउँदा यस्तो भएको हुनसक्ने विवरणहरू प्रकाशित गरिरहेका छन्।
तस्बिरहरूमा विमानको तल्लो भाग घिस्रिएको र त्यसले एउटा पर्खालमा ठक्कर दिएपछि पड्किएको देख्न सकिन्छ।
चराहरूले अवतरण गराउने ‘ल्यान्डिङ गियर’ मा समस्या निम्त्याएको हुनसक्ने भनिएको छ।
उक्त विमानस्थलले सबै उडानहरू बन्द गरेको छ।
कोरियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म एक जना चालक दलको सदस्य र एक यात्रुको उद्धार भएको जनाएको छ।
अरू भिडिओहरूमा कालो धुँवाको ठूलो लप्का आकाशतर्फ उडेको देख्न सकिन्छ।
कोरियाको अग्नि नियन्त्रण निकायका अनुसार ८० जना अग्नि नियन्त्रक र ३० भन्दा बढी दमकल घटनास्थलमा खटिएका छन्।
मुआन राजधानी सोलबाट करिब २८८ किलोमिटर दक्षिणमा पर्छ।
दक्षिण कोरियाको उड्डयन उद्योग हवाई सुरक्षाका मामिलामा बलियो रहेको विश्वास गरिन्छ।
जेजु एअरको इतिहासमा यो पहिलो दुर्घटना हो। सन् २००५ मा स्थापित जेजु एअर दक्षिण कोरियाकै सर्वाधिक ठूलो मध्येको कम बजेटमा उडान सेवा प्रदान गर्ने वायुसेवा हो।
साभार- www.bbc.com
प्रकाशित मिति : १४ पुस २०८१, आइतबार १० : १५ बजे
प्रतिक्रिया