प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
मंगल बेघा
१३ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ मा न्यु रोड टिम (एनआरटी) माथि कठिन जित निकाल्दै मछिन्द्र फुटबल क्लब, काठमाण्डौ फाईनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा शनिबार भएको दोस्रो सेमिफाईनलमा एनआरटीलाई १–० ले पाखा लगाउँदै मछिन्द्र फाईनलमा प्रवेश गरेको हो । मछिन्द्रले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा उसको फाईनल यात्रा संभव भएको हो ।
खेल सुरु भएदेखि नै आक्रमक फुटबल पस्किएको मछिन्द्रले नवौं मिनेटमा दयानन्द इलाङबामको गोल मार्फत १–० गर्दै अग्रता लियो । थ्रोवाट आएको बललाई उनले हेड मार्फत गरेको फ्लीपलाई एनआरटीका गोलरक्षक प्रमिजय गच्छादारले बचाउन सकेनन् ।
सुरुवाती अग्रता लिएको मछिन्द्र विरुद्ध एनआरटीले गरेको पटक पटकको प्रयास खेर गएको थियो । पहिलो हाफका १४ औ मिनेटमा एनआरटीका कृतिश छुन्जुले गरेको प्रहार गोल पोष्ट बाहिर गयो । त्यस लगत्तै १६ औं मिनेटमा विदेशी खेलाडी नेमारले गरेको शक्तिशाली प्रहार पनि फ्रेमभित्र पर्न सकेन । एनआरटीले १९ औं मिनेटमा अर्को आक्रमण बुनेको थियो । यस पटक एन्जेल महर्जनले गरेको प्रहारले गोल पोष्टको दिशा लिएन ।
एनआरटी विरुद्ध पहिलो हाफमा दवाव सिर्जन गरेको मछिन्द्रले वल पोजिसन राख्दै पटक पटक आक्रमण बुनेको थियो । मछिन्द्रका अदित्य शाक्यले खेलको २४ औं मिनेटमा हेड मार्फत गरेको आक्रमण गोल पोष्ट बाहिर गयो । यसै गरी, ४० औं मिनेटमा पहिलो गोल गरेका दयानन्दले गरेको शक्तिशाली प्रहार गोलपोष्टमा लागेर बाहिरिएपछि मछिन्द्रको अग्रता दोब्बर बनाउने अवसर गुमेको थियो । पहिलो हाफको निर्धारित र अतिरिक्त समयमा समेत दुवै टोलीवाट गोल नभएपछि मछिन्द्रको १–० को अग्रता सहित पहिलो हाफ सकिएको थियो ।
पहिलो हाफमा नै दुई विदेशी खेलाडीहरु कार्लोस र मार्टिन घाईते हुँदै मैदान छाडेपछि एनआरटी दवावमा परेको थियो ।
दोस्रो हाफमा एनआरटीले मछिन्द्र माथि दवाव सिर्जना गरेको थियो । खेलको ६७ औं मिनेटमा राष्ट्रिय टोलीका समेत प्रमुख स्ट्राईकर रहेका अन्जन विष्टले डिबक्स बाहिरवाट गरेको शक्तिशाली प्रहारलाई मछिन्द्रका गोल रक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । अन्जनको प्रहारमा रिबाउण्ड भएको बललाई नियन्त्रणमा लिँदै नेमारले माइकल गर्बुजालाई पास मिलाई दिए पनि उनको प्रहार सकिट हुन सकेन ।
खेलको ८६ औं मिनेटमा मछिन्द्रका सौरव सुब्बाले सब्टिच्युड भए लगत्तै पाएको वान भर्सेस वानकाे अवसरलाई सदुपयोग गर्न सकेनन् । उनको प्रहारलाई एनआरटीका गोलरक्षक प्रमजियले बचाउ गरेका थिए । ८८ औं मिनेटमा एनआरटीका अन्जनले लामो दुरीवाट गरेको प्रहारले गोलपोष्टको दिशा लिन सकेन् । बाँकी समयमा दुवै टाेलीवाट गाेल नभएपछि कठिन जित सहित मछिन्द्रकाे फाइनल यात्रा तय भएकाे थियाे ।
दोस्रो सेमिफाईनलको म्यान अफ दि म्याच मछिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले नगद १० हजार र ट्रफी हस्तान्तरण गरे ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको फाईनल खेल पौष १५ गते फिदिम माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहेको छ भने पाँचथर जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
सोबार हुने फाईनलः
चर्च बोइज युनाईटेड, काठमाण्डौ विरुद्ध मछिन्द्र फुटबल क्बल, काठमाण्डौं
प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ७ : ५३ बजे
प्रतिक्रिया