मंगल बेघा
१२ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता- २०८१ को पहिलो सेमिफाईनलमा आज आयोजक फिदिम स्पोर्टिङ क्लब र एपीआई चर्च बोइज युनाईटेड, काठमाण्डौ भिड्दै छन् ।
फिदिम माविको खेल मैदानमा हुने खेलमा आयोजक फिदिमले ए डिभिजन क्बल चर्च बोइजको सामना गर्न लागेको हो । आजको खेलमा फिदिमलाई घरेलु मैदान र स्थानीय समर्थकको साथ हुनेछ भने चर्च बोइजलाई विदेशी सहित स्तरीय खेलाडीको साथ रहनेछ ।

फिदिम स्पोर्टिङलाई फरवार्ड आशिष चापागाँई, डिफेन्डर विशाल दर्जी, गोलरक्षक मिराक खजुम लगायतका खेलाडीका साथ रहेको छ । अघिल्लो खेलमा घाईते भएका डिफेन्डर प्रकाश धमलाको अभाव खड्किन सक्नेछ । चर्च बोइजलाई अघिल्लो खेलमा ह्याट्रिक गरेका दुई खेलाडी समिर तामाङ, विदेशी खेलाडी आर्मोण्ड बेयुडुम लगायतका स्तरीय खेलाडीको साथ रहेको छ ।
फिदिमले प्रि–क्वाटरमा एक मात्र विदेशी टोली करसाङ फुटबल क्लब, करसाङ भारतलाई हराएको थियो भने क्वाटर फाईनलमा त्रिभूवन आर्मी फुटबल क्लब काठमाण्डौं माथि सनसनीपूर्ण जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । दुवै टोलीलाई टाइब्रेकरमा पराजित गरेको फिदिमका गोलरक्षक मिराक खजुम पेनाल्टी सुटआउटमा नायक बनेका थिए । चर्च बोइजले भने क्वाटर फाईनलमा फ्रेन्चाईज टोली विराटनगर सिटि फुटबल क्लब, विराटनगर माथि ७–१ को फराकिलो जित दर्ता गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको फाईनल खेल पौष १५ गते फिदिम माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न फिदिम नगरपालिका मूख्य प्रवद्वक रहेको छ भने पाँचथर जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
शनिबार हुने दोस्रो सेमफिाईनलः
न्यु रोड टिम (एनआरटी) काठमाण्डौं विरुद्ध मछिन्द्र फुटबल क्बल, काठमाण्डौं
प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार १० : ३१ बजे
प्रतिक्रिया